केनाइन महाशाखा महाराजगंजमा कुकुर पूजा सम्पन्न ( फोटो सहित )



काठमाडौँ । यमपञ्चकको दोस्रो दिनका अवसरमा प्रहरी प्रधान कार्यालय कार्य एवम् अपराध अनुसन्धान विभाग, केनाइन महाशाखा महाराजगंजमा आयोजित कार्यक्रम बिच बुधवार कुकुर पूजा सम्पन्न भएको छ ।

कार्यक्रममा उक्त महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक डा. देउती गुरुङले महाशाखामा रहेका विभिन्न जातका कुकुरहरूलाई पूजा गर्नुभयो ।

साथै उहाँले अपराध अनुसन्धान तथा खोज कार्यमा यस वर्ष उत्कृष्ट कार्य गर्ने कुकुर ‘जम्बो’, बाधापार र हाईजम्पतर्फ प्रदर्शनमा उत्कृष्ट हुने कुकुर ‘रिया’, रनिङतर्फ ‘कालु’लाई पुरस्कार प्रदान गर्नुभयो । साथै यस वर्ष उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरूलाई समेत उहाँले पुरस्कार प्रदान गर्नुभयो ।

कार्यक्रममा महाशाखाका प्रहरी कर्मचारीहरू र प्रहरी कुकुरहरूले हातहतियार तथा विष्फोटक पदार्थको खोजी तथा पहिचान, लागू औषधको खोजी तथा पहिचान, अपराधीको खोजी एवं पहिचान, हाइजम्प प्रतियोगिता, दौड प्रतियोगिता, आज्ञापालन तथा व्यक्तिगत सुरक्षा कला, बाधापार, रिमोट कन्ट्रोल कला र खोजी तथा उद्दार कार्य लगायतको प्रदर्शनी गरेका थिए ।

प्रहरी नायव उपरीक्षक डा. रामचन्द्र सत्यालले स्वागत मन्तव्य व्यक्त गर्नु भएको उक्त कार्यक्रममा प्रहरी निरीक्षक डा.चेत नारायण ज्ञवालीले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

नेपाल प्रहरीको अनुसन्धान प्रक्रियालाई तथ्यपरक र प्रमाणमुखी बनाउने उद्देश्यकासाथ विगत लामो समयदेखि अपराध अनुसन्धान तथा खोज कार्यमा तालिम प्राप्त कुकुरहरूको प्रयोग हुँदै आएको छ ।

कार्यक्रममा प्रहरी अधिकृतहरू, सञ्चारकर्मी लगायत अतिथिहरू समेतको उपस्थिति रहेको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्