महिला टी २० विश्वकप एसिया छनोट : नेपाल हङकङसँग ६ विकेटले पराजित



आइसीसी महिला टी-२० विश्वकप एसिया क्षेत्र छनोटको पहिलो खेलमा नेपाल हङकङसँग ६ विकेटले पराजित भएको छ । दुबईको आइसीसी क्रिकेट एकेडमीमा सोमबार भएको खेलमा नेपाल ६ विकेटले पराजित भएको हो । 

नेपालले प्रस्तुत गरेको १०५ रनको लक्ष्य पछ्याएको हङकङले १८ ओभरमा मात्र ४ विकेट गुमाएर पूरा गर्‍यो।

हङकङको जितमा मारिको हिलले सर्वाधिक ४२ रन बनाइन्। त्यस्तै, क्यारी चन १७ र नताशा मिलेसले १६ रन जोडिन्। नेपालकी कविता कुँवर, सीता रानामगर र सबनम राईले समान एक विकेट लिए ।

यसअघि दुबईको आईसीसी क्रिकेट एकेडेमीमा टस हारेर पहिले ब्याटिङ गर्ने निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा तीन विकेट गुमाउँदै १०४ रन बनाएको थियो।

नेपालका लागि सीता राना मगरले ४० रन बनाएकी थिइन्। यस्तै, इन्दु बर्माले ३१ जोडेकी थिइन् ।

हङकङका लागि क्यारी चन र बेट्टी चनले समान एक एक विकेट हात पारे ।  नेपालले दोस्रो खेल भुटानविरुद्ध मंगलबार खेल्नेछ ।

त्यसै गरी तेस्रो खेल बिहीबार कुवेतविरुद्ध, चौथो खेल मलेसियासँग शुक्रबार तथा पाँचौ खेल आइतबार युएईविरुद्ध खेल्ने तय भएको छ । छनोटमा ६ टिम सहभागी छन् र विजेता टोलीले विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउनेछ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्