चलचित्र “टुल्की”को सेन्सर पास, पायो ‘यूनिभर्सल’ सर्टिफिकेट



काठमाडौं – फिल्म ” टुल्की” लाई सेन्सर बोर्डले यूनिभर्सल सर्टिफिकेट दिएको छ । फिल्मले नेपाल सरकार अन्तर्गत केन्द्रीय चलचित्र जाँच समितिबाट यूनिभर्सल सर्टिफिकेट पाएको हो । बुधबार सेन्सर बोर्डका पदाधिकारीहरूले चलचित्र हेरेपछि चलचित्र प्रेमी दर्शकले अभिभावकको साथमा हेर्न मिल्ने गरी यूनिभर्सल सर्टिफिकेट दिएका हुन् ।

द पाल्म ग्रुप प्रालिको ब्यानरमा हिमाली भेगमा प्रचलित बहु पति प्रथाको कथामा निर्माण गरिएको ‘टुल्की’मा शिशिर वाङदेल, स्वस्तिमा कार्की, हिमाली हमाल, नरेन तामाङ, रत्नप्रसाद न्यौपाने, सोम लामा, शेखर लामा, सौजन सुब्बा, दीर्घ लामा, भक्तसिंह कठायत लगायतको चलचित्रमा अभिनय छ ।

लक्ष्मण सुनारको कथा र देवजंग थापाको छायाङ्कन तथा निर्देशनमा बनेको ‘टुल्की’मा आरपी कर्माचार्य र शेखर लामाको लगानी छ । झण्डै चार वर्षको अध्ययनपछि चलचित्रको निर्माण गरिएको निर्माण पक्षको भनाइ छ । निर्माण पक्षका अनुसार अहिलेसम्म चलचित्रमा ९० लाख रुपैयाँ बढी लगानी भएको छ ।

‘टुल्की’ नेपालमा भन्दा पहिले विभिन्न देशमा प्रदर्शन गरिने र अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा समेत सहभागी हुने जनाइएको छ । निर्माण टिमले दुई महिना अगाडि चलचित्रको फस्टलुक पोस्टर र टिजर सार्वजनिक गरिसकेको छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्