केपीको सामाजिक दलाल पुँजीवाद नै नेपाली क्रान्तिको मुख्य दुश्मन होः चिरण पुन



विषय प्रवेश 

‘तीव्र गतिको क्रूरतामा सारा शक्ति लुकेको हुन्छ ।’ दोस्रो विश्वयुद्धको बेला तानाशाह हिटलरले यही नारासहित विश्व जित्न निस्केका थिए । हजार वर्षसम्म शासन गर्ने उनको कल्पना केवल २२ वर्षमै समाप्त हुन पुग्यो । आफूलाई कहिल्यै नहार्ने, कहिल्यै नझुक्ने र कहिल्यै नढल्ने कल्पना गरेका हिटलर सन् १९४५ अप्रिल ३० मा आत्महत्या गरेर मर्नुपर्ने अवस्था उत्पन्न भयो । यसले के कुरा पुष्टि गर्छ भने जहाँ अन्याय हुन्छ त्यहाँ विरोध हुन्छ । जहाँ विरोध हुन्छ त्यहाँ दमन हुन्छ । जहाँ दमन हुन्छ त्यहाँ प्रतिरोध हुन्छ । यसरी जनताको प्रतिरोधले उत्पीडनकारी शासनसत्ता फालिदिन्छ र नयाँ शासन व्यवस्थाको सुरुआत गरिदिन्छ । यही प्रक्रियाले आजसम्म संसार अघि बढ्दै यहाँसम्म आइपुगेको छ ।

केपीको प्रारम्भिक यात्रा 

अहिले एमाले नेता केपी पुरानो सत्ताको प्रधानमन्त्री बनेका छन् । प्रधानमन्त्री बनेको १ साता पनि नपुग्दै नेपाल कम्युनिस्ट पार्टी निकट युवा सङ्गठनको तेस्रो राष्ट्रिय सम्मेलनका क्रममा विराटनगरमा पार्टीका स्थायी समिति सदस्य कमरेड सुदर्शन र पीबीएम कमरेड विकासलाई गिरफ्तार गरेर आफ्नो प्रारम्भिक पहिचान दिलाएका मात्र छैनन्, शान्तिपूर्ण कार्यक्रम गर्न पाउने जनताको अधिकारमाथि धावा बोलेर कथित गणतन्त्रात्मक संविधानको धज्जी पनि उडाएका छन् ।

केपी सरकार प्रारम्भिक चरणमै नेकपाका नेता:कार्यकर्ता, समर्थक / शुुभचिन्तकलाई गिरफ्तार गर्ने, झुट्टा मुद्दामा फसाउने, जेल हाल्ने योजनामा लागिपरेको देखिन्छ । भारतीय साम्राज्यवादले दिनहुँ सीमा मिचिरहेको छ । भ्रष्टाचारले जनता आक्रान्त बनेको छ । मुलुक कालोबजारी:कमिसनखोर, तस्कर:बिचौलियाहरूको रजाइँस्थल बनेको छ । राष्ट्रघात र जनघातका कैयौँ समस्याहरू जकडिएर बसेका छन् । मूल्यवृद्धिले आकाश छोएको छ । दिनहुँ हजारौँ युवा बिदेसिने क्रम रोकिएको छैन । राजनीति ठेकेदार, व्यापारी र तस्करहरूको हातमा पुगेको छ । यी र यस्ता समस्याहरूतिर केपीको कुनै ध्यान छैन । तर नेकपाका नेता÷कार्यकर्ता खोज्न, गिरफ्तार गर्न, झुट्टा मुद्दामा फसाउन टुप्पीदेखिको बल लगाएर कस्सिएका छन् केपीमण्डलीहरू ।

केपीका विश्वासपात्र मानिएका कथित १ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधनले त युवा सम्मेलनमा आएका सबैलाई गिरफ्तार गरेर मुद्दा लगाउनुपर्ने निर्देशन जारी गरेको कुरा बाहिरै आयो । कथित चुनावको बेला जनताले गरेको प्रतिकारबाट संयोगले जीवनदान पाएका शेरधनहरू र केपीहरूलाई सायद लागेकै होला– नेकपा गिरफ्तारीले झुक्छ ! झुट्टा मुद्दाले आत्तिन्छ ! जेल/नेल/हिरासतले तर्सिन्छ ! पुलिस/प्रशासनको रबैयाले थर्किन्छ ! यो केवल पुरानो संसद्वादी व्यवस्थाको बासी विचार/प्रवृत्ति र तरिका मात्र हो ।

यसले न नेपाल कम्युनिस्ट पार्टीको गौरवपूर्ण यात्रा रोकिन्छ, न त एकीकृत जनक्रान्तिको लहर जनतामा पुग्न छोड्छ । बरु क्रान्तिकारीहरूलाई ऊर्जा दिलाउनेछ, एकीकृत जनक्रान्तिलाई सान लगाउनेछ । नेता/कार्यकर्ता/समर्थक/शुभचिन्तक र आम क्रान्तिकारी जनसमुदायलाई झनै ज्वाला बनेर हुर्कन सिकाउनेछ । प्रतिबद्ध र जुझारु बनाउनेछ । चुस्तदुरुस्त बन्न भूमिका निर्वाह गर्नेछ । नेकपा बुझेरै यो दलाल संसद्वादी व्यवस्था फाल्न कस्सिएको हो । जानेरै यो दलाल व्यवस्थाको स्थानमा वैज्ञानिक समाजवादी व्यवस्था ल्याउन तम्सिएको हो ।

केपी गुटलाई हेक्का रहोस्, जर्मनमा एडोल्फ हिट्लर ढले, इटालीका तानाशाह बेनिटो मुसोलिनीलाई सन् १९४५ को अप्रिलमा मुक्तिसेनाको हातबाट गिरफ्तार भर्ई मिलानको चौबाटोमा फाँसी दिइयो । फ्रान्सिस्को बहमन्डे फ्रेङ्को कम्युनिस्टविरोधी (स्पेनी तानाशाह) उनको पनि अन्त्य भयो । तत्कालीन फासिवादका विश्वासपात्र बनेका बेलायती प्रधानमन्त्री नेविल चेम्बरलेन र विन्स्टन स्पेन्सर चर्चिलजस्ताको सत्ता बेलायतमा टिकेन । अजम्मरीको बुटी खाएको पञ्चायत ढल्यो । राजा ज्ञानेन्द्रको सत्ता पल्टियो । जनताको आवाजलाई दमन गरेर, प्रहरी लगाएर, मुद्दा हालेर एकीकृत जनक्रान्तिलाई रोक्न सकिन्छ भन्ने लागेको छ भने नेकपा त्यसको प्रतिकारमा तमतयार रहेकै विषय हुने नै भयो ।

सामाजिक दलाल पुँजीवाद 

माक्र्सले पेरिस कम्युन टिक्न नसक्नुमा मुख्य यी ४ कारणहरू रहेको बताउनुभएको छ– एक : बुर्जुवाहरूमाथि सर्वहारा अधिनायकत्व लागू गर्न नसक्नु, दुई : सेना निर्माण नगर्नु, तीन : बैङ्क तथा वित्तीय संस्थाहरू कब्जा गर्न नसक्नु, चार : बुर्जुवा वर्गले दिएको झुट्टो आश्वासनप्रति बढी विश्वास गर्नु । माक्र्सको यो भनाइ निकै सान्दर्भिक छ । पेरिस कम्युनमा यी विषयहरूलाई ध्यान दिइएको भए सायद पेरिस कम्युनको आयु लम्बिन सक्थ्यो होला ।

रसियामा मार्च १९१७ मा जारशाहीको अन्त्य, ७ नोभेम्बर १९१७ मा अक्टोबर क्रान्ति सम्पन्न भयो । यो नै पहिलो वैज्ञानिक समाजवादी सत्ता थियो । रुसको सन्दर्भमा भन्नुपर्दा बोल्सेबिकहरू जनताको असली पात्र बन्न सफल बने र उनीहरूकै नेतृत्वमा वैज्ञानिक समाजवादी सत्ता स्थापना गर्न सफल पनि भए तर मेन्सेबिकहरू दक्षिणपन्थी बाटो समात्दै पतनको बाटोमा लागे । यही सन्दर्भ नेपालमा पनि लागू हुने र देखिने विषय बन्यो । त्यही मेन्सेबिक र खुस्चेबी बाटोमा यहाँका केपी÷प्रचण्ड गुट लागे र सामाजिक दलाल पुँजीवादको खाल्डोमा भास्सिन पुगेका छन् ।

अहिले झापा विद्रोहबाट जन्मिएको एमाले/केपी तथा १० बर्से महान् जनयुद्धबाट उम्रिएका माके/प्रचण्डको नेतृत्वमा बनेको कथित वाम गठबन्धन पूरै सामाजिक दलाल पुँजीवादी गठबन्धनमा पतन भएको छ । यसको रूप पक्षलाई हेर्दा यो वाम खोलमा छ, कम्युनिस्ट झन्डामा छ । नामका अघि वा पछि कम्युनिस्ट शव्द झुन्ड्याएर पनि हिँड्ने गर्दछ । केही समृद्धि र समाजवादको कुरा पनि गर्दछ । केही विकास र समानताको नारा पनि लगाउँछ तर यसको सार पक्षलाई हेर्दा यो पूरै सामाजिक दलाल पुँजीवादमा पतन भएको छ ।

दर्शनमा विचलन, सिद्धान्तमा विचलन, राजनीतिमा विचलन, कम्युनिस्ट रणनीति र कार्यनीतिमा विचलन, नैतिकतामा विचलन हुँदै यो पूरै भ्रष्टीकरणमा पुगेको छ । उत्तरसाम्राज्यवादको दलाली र चाकडी यसको पर्यायवाची बनेको छ । निगम पुँजीलाई प्रोत्साहन दिने र बिचौलिया पुँजीबाट आफ्नो भुँडी भर्ने खेलोमेलो यसको दैनिकी बनेको छ । दलाल संसदीय व्यवस्थालाई अजम्मरीको बुटी मानेर संसद्वादमा चुर्लुम्मै डुबिसकेको छ । राष्ट्रघात, जनघात, जनहत्या, लुटपाट, तस्करी, कालोबजारी, ठेक्कापट्टा र कमिसनको चक्करमा देशलाई बन्धकी राख्नसमेत तयार बनेको एमाले÷माके गठबन्धन सामाजिक दलाल पुँजीवादमा पूरै पतन भैसकेको छ ।

त्यसैले यो प्रवृत्तिसँग जनताले मित्रशक्तिको भूमिकाले हैन, पूरै दुस्मन शक्तिको व्यवहार सम्पूर्ण ढङ्गले बदलिनुपर्ने आवश्यकता बनेको छ । एकातिर क्रान्तिकारी शक्ति वा जनताको बलियो एकता, अर्कोतिर दलाल संसद्वादी सत्ता, दलाल तथा सामाजिक दलाल पुँजीवादी शक्ति र प्रवृत्तिका बीच हुने लडाइँ÷द्वन्द्व वा अन्तर्विरोधले वैज्ञानिक समाजवादको जन्म दिनेछ । एकीकृत जनक्रान्तिको माध्यमबाट हामी वैज्ञानिक समाजवादी व्यवस्थाको सङ्घारमा प्रवेश गर्नेछौँ ।

अक्टोबर क्रान्तिले क्रान्तिकारीका लागि महान् योगदानहरू दिएको सन्दर्भ हाम्राअगाडि जगजाहेर छ । पहिलो वैज्ञानिक समाजवादी सत्ता स्थापना, सर्वहारावर्गीय अधिनायकत्व लागू, माक्र्सवादका आधारमा पार्टी सङ्गठन निर्माण, कम्युनिस्ट पार्टीको सङ्गठनात्मक पद्धतिको विकास, तेस्रो अन्तर्राष्ट्रिय स्थापना र विकास, समाजवादलाई विश्वभर फैलाउनु, माक्र्सवादलाई माक्र्सवाद–लेनिनवादमा विकास गर्नु र सोभियत मजदुर, किसान र सेनासहित स्थापना गर्नु रहेका छन् । यो वैचारिक परिवेशको बाटोमा हिँड्नुको साटो पूरै विचलन र पदभ्रष्ट हुँदै दलाल पुँजीवादी प्रवृत्तिजस्तै सामाजिक दलाल पुँजीवादी प्रवृत्ति पनि जनविरोधी तत्वमा परिणत बनेका छन् । 

सोभियत सङ्घमा कमरेड स्टालिनको मृत्युपछि निकिता ख्रुस्चेबको आगमनले जसरी ५ सिद्धान्त– एक : शान्तिपूर्ण सहअस्तित्व, दुई : शान्तिपूर्ण सङ्क्रमण, तीन : शान्तिपूर्ण प्रतिस्पर्धा (आर्थिक), चार : सम्पूर्ण जनताको राज्यसत्ता, पाँच : सम्पूर्ण जनताको पार्टीका नाममा ख्रुस्चेबी संशोधनवाद लागू ग¥यो । त्यसैगरी केपी:एमाले र प्रचण्ड:माके पनि पूरै क्रान्तिकारी भूमिकाबाट च्यूत बन्दै सामाजिक दलाल पुँजीवादमा भासिएका छन् । जनताका निम्ति दलाल पुँजीवादजस्तै खतरनाक भूमिकामा सामाजिक दलाल पुँजीवाद पनि क्रियाशील छ ।

यो शक्ति पूरै जनविरोधी र राष्ट्रविरोधी कित्तामा पुगिसकेको छ । दलाल संसद्वादी सत्ताको असली मतियार बनेर साम्राज्यवादको सेवामा लम्पसार परी संसद्वादको सेवामा लागेका शक्ति सामाजिक दलाल पुँजीवादीहरू हुन् । एमाले:माके गठबन्धनले लिएको सामाजिक दलाल पुँजीवादी बाटो जनहित र राष्ट्रहितविपरीत छ । त्यसैले यसका विरुद्ध सबै क्रान्तिकारीहरू गोलबन्द र एकताबद्ध हुनु आवश्यकता छ ।

आजको दुईध्रुवीय अन्तर्विरोध र हाम्रो पक्षधरता

पुँजीवादी:साम्राज्यवादी:उत्तरसाम्राज्यवादी अन्तर्विरोध दुई धु्रवमा वा बहुधु्रवमा केन्द्रीकरण हुँदै गैरहेको छ । विश्व अर्थतन्त्र निगम पुँजीको हातमा प्रवेश गर्दै त्यहाँ पनि बहुध्रुवीय अन्तर्विरोध खडा भएको छ । हालै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिनेटमा रुस र चीन अमेरिकाका प्रतिद्वन्द्वी रहेको र रुस र चीनसँग रणनीतिक प्रतिस्पर्धा गर्नुपर्ने प्रस्ताव गरेर आफ्नो अलग धु्रवको पहिचान विश्वसामु प्रस्ट्याए । अमेरिका र उत्तरकोरियाबीच बढेको तनाव, आणविक होडबाजी, तत्काल रुसले त्यसका विरुद्ध गरेको प्रतिवाद, चीनले गरेको भत्र्सना मननयोग्य बनेको छ ।

दक्षिणएसियामा चीन र भारतको दोक्लाममा भएको विवाददेखि गत डिसेम्बरमा भारतीय जासुसी ड्रोनलाई चीनले खसालेका सन्दर्भहरूले एसियामा समेत यो धु्रव देखापर्दै गैरहेको छ । पाकिस्तान र भारतको निरन्तर विवाद, रणनीतिक साझेदार देश अमेरिका पाकिस्तानलाई छोडेर भारततर्फ मोडिएको छ । पाकिस्तान खुलेआम चीनसँगको गठबन्धनमा पुग्नुले दक्षिणएसियामा समेत अन्तरविरोधले चुली चुम्दै गैरहेको अवस्था बनेको छ । कहाँसम्म भने विज्ञ र जानकारहरूले फेरि तेस्रो विश्वयुद्ध र शीतयुद्धको प्रक्रियामा प्रवेश गरेको कुरा बारम्बार बताइरहेका छन् ।

यसै सन्दर्भमा नेपालको राजनीतिमा पनि दुईध्रुवीय अन्तर्विरोध देखापरेको छ । विश्वस्तरमा मुलुकहरूका बीच अन्तर्विरोध छ भने हाम्रो देशमा भिन्न प्रवृत्तिहरूमा दुईधु्रवीय द्वन्द्व उत्पन्न भएको छ– एकातिर दलाल पँुजीवादी धार, सामाजिक दलाल पुँजीवादी धार, राजावादी संसदीय पुँजीवादी धार र मधेसवादीसहितको दलाल संसदीय व्यवस्थालाई मान्ने प्रवृत्तिहरू क्रियाशील छन् भने अर्कोतिर, क्रान्तिकारी दर्शन, सिद्धान्त र राजनीतिक धारको वरिपरि किसान, मजदुर, श्रमजीवी मध्यमवर्ग, देशभक्त, राष्ट्रवादीलगायत क्रान्तिकारी शक्तिहरू क्रियाशील बनेका छन् । यी शक्तिहरूबीचको द्वन्द्व र अन्तर्विरोधले निर्णायक क्रान्तितर्फ मुलुकलाई जबर्जस्ती धकेलिरहेको परिवेश बन्दै गैरहेको छ ।

यसले एकातिर दलाल संसद्वादीहरूको गठजोडलाई बढाउँदै लगेको छ भने अर्कोतिर देशभक्त तथा राष्ट्रभक्त शक्तिहरूको बलियो एकता, मजदुर, किसान, मध्यमवर्ग (नयाँ श्रमिक वर्ग), युवा, विद्यार्थी, महिला, बुद्धिजीवी, शिक्षक, कर्मचारी, देशभक्त, राष्ट्रभक्तलगायत क्रान्तिकारी जनसमुदायहरूको धु्रवीकरण र एकतालाई बलियो बनाउने दिशातर्फ केन्द्रीकरण बन्दै गएको छ । अहिलेको सन्दर्भमा देखापरेको यही अन्तर्विरोधले पुरानो दलाल संसदीय सत्तालाई अन्त्य गर्ने एकीकृत जनक्रान्तिको बीजारोपण भएको छ । वैज्ञानिक समाजवादको ढोका खोल्ने आधार सिर्जना भएको छ ।

नेपाल कम्युनिस्ट पार्टी यो अभियानमा लागेको छ । कमरेड विप्लवको नेतृत्वमा क्रियाशील यो पार्टी नै क्रान्तिकारी जनताको साथ र समर्थनमा एकीकृत जनक्रान्तिमार्फत वैज्ञानिक समाजवाद स्थापनार्थ लामबद्ध बनेको छ । आवश्यक जेल÷नेल÷हिरासत, आवश्यक बलिदान र आवश्यक प्रतिवादयुक्त एकीकृत जनक्रान्तिको सुन्दर मार्गमा लागेको छ । यही पक्षधरता क्रान्तिकारीहरूको सही पक्षधरता बनेको छ । गिरफ्तार कामरेडहरू रिहा गर ! केपी÷प्रचण्डको सामाजिक दलाल पुँजीवाद मुर्दावाद ! एकीकृत जनक्रान्ति— जिन्दावाद ! वैज्ञानिक समाजवाद जिन्दावाद !

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्