दलाललाई ४० लाख बुझाएर अमेरिका हिँडेका रुकुमेली युवाको घानामा मृत्यु



काठमाडौँ / चिनजानका एजेन्टलाई ४० लाख रुपैयाँभन्दा बढी रकम बुझाएर अज्ञात बाटोबाट अमेरिका हिँडेका रुकुम पश्चिमका २८ वर्षे रूपक बोहराको अफ्रिकी मुलुक घानाको राजधानी अक्रास्थित रिज अस्पतालमा मृत्यु भएको छ ।

१० दिनअघि सियरा लियोनको फ्रिटाउनबाट अक्रा पुगेका बोहरालाई मलेरियाले ग्रस्त बनाएको अवस्थामा इमिरेट्स एयरलाइन्सले अक्रा एयरपोर्टको ट्रान्जिटमा अलपत्र छाडिदिएको थियो । बोहराको गम्भीर स्वास्थ्य स्थितिका बारेमा जानकारी पाएपछि घानास्थित भारतीय उच्चायुक्त, गैर आवासीय भारतीय तथा नेपाली समुदायले उनको उपचारमा सहयोग गर्दै आएका थिए ।

दक्षिण अफ्रिकास्थित नेपाली चिकित्सक एवं गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) का स्वास्थ्य संयोजक डा.सरिता पाण्डे भट्टराईले दिएको जानकारीअनुसार शनिवार अपराह्न रूपकको निधन भएको अस्पतालले सूचना दिएको छ । रिज अस्पतालका सम्बद्ध चिकित्सकसँग नियमित परामर्शमा रहँदै आएकी डा. भट्टराईले यो घटनाबारे एनआरएनए मुख्यालयलाई समेत अवगत गराएकी छन् ।

घानामा महँगो उपचार खेप्दै सहयोगको पुकारा गरिरहेका बोहरालाई दैनिक चार सय डलरभन्दा बढी खर्च लाग्ने भएकाले रकमको जोहो गर्न घानास्थित एनआरएनए लागिपरेको थियो । हाल नाइजेरियामा रहेका गैर आवासीय नेपालीका अभियन्ता हिक्मत थापाले असुरक्षित आप्रवासन र मानव तस्करीको फन्दामा परेका बोहराको जीवन रक्षा तथा घरफिर्तीका लागि अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आईओएम) लाई आग्रह गर्ने तदारुकता राखेका थिए ।

बोहराको उपचारका लागि एनआरएनए अफ्रिकाको राहत कोषले १ हजार डलर सहयोग रकम पठाएको कोषका सञ्चालक कुल कार्कीले केन्याबाट जानकारी दिए ।

‘सबै ऋणपान र घरजग्गा धितो राखेर छोराको भलाइका लागि अमेरिका जाने भन्दै दलाललाई पैसा बुझाएका थियौं,’ रुकुमको बाँकेकोट गाउँपालिका–३ का वडा सदस्य समेत रहेका बोहराका बाबु देवबहादुरले फोनमा भने, ‘यही हाम्रै गाउँठाउँबाट पनि दलाललाई पैसा ख्वाएर थुप्रै जना अमेरिका पुगिसकेका छन् । त्यही भरमा परेर आफूले पनि चिनजानका एजेन्टले भनेअनुसार पैसा पठाउँदै आएको थिएँ ।’

उनका अनुसार तिरेको पैसामध्ये ३१ लाख रुपैयाँ आफूले बुझेको भनेर हाल नेपालगन्जमा रहेका सहायक एजेन्ट मनोज महतराले सरकारी वकिलसमक्ष कागज गरिसकेका छन् । ‘मैले पनि रूपक घानामा पुगेर अलपत्र भएको थाहा पाएको छु, उनलाई घर फर्काउने प्रयत्न भइरहेको छ,’ नेपालगन्जमा शुक्रबार दिउँसो सम्पर्कमा आएका एजेन्ट महतराले भनेका थिए, ‘अमेरिका पठाउने भनेर लागि पर्ने रुकुमकै नीराजन बस्नेत अहिले दुबईमा हुनुहुन्छ । रूपक भाइको उद्धारका लागि लाग्नेछौं ।’

रूपकका बुबा देवबहादुरलाई आफ्नो छोरा के, कताबाट र कुन हवाई बिन्दुबाट घाना पुग्यो भन्ने जानकारी छैन । ‘छोरालाई अमेरिका पठाउन उठाएको ऋणका कारण यता उठीबास लाग्ने स्थिति छ,’ उनले भने । तर अमेरिका पठाउने भन्दै गाउँ पसेर युवालाई सपना देखाउने एजेन्टहरू सम्पर्कमै रहे पनि तिनलाई पक्राउ गर्न र आवश्यक कारबाही गर्न कहीं, कतैबाट कुनै पहल नभइरहेको उनले बताए ।

तीन महिनाअघि अमेरिका जान भनी घरबाट हिँडेका रूपकका घरमा नाबालक दुई छोराछोरी र श्रीमती छन् । अस्पतालको बेडबाट धेरै कुरा बोल्न नसक्ने र घरै फर्कने इच्छा मात्रै जनाइरहेका रूपकले बितेको अवधि दलालको घेरामा कहाँ, कसरी समय बिताए भन्न सकिरहेका थिएनन् । -इकान्तिपुर डटकमबाट

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्