जताजतै देखिन थाल्यो कोभिडको ‘ओमिक्रोन भेरिएन्ट, जर्मनी, बेलायत र इटलीमा पनि भेटियो



एजेन्सी । कोभिड– १९ को नयाँ भेरिअन्ट ओम्रिकन बेलायत, जर्मनी, बेल्जियम र इटलीमा पनि फेला परेको छ । चेक रिपब्लिकमा पनि यो भेरिअन्ट पुगेको आशङ्का गरिएको छ ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाए अनुसार शनिवार बेलायतका २ जना व्यक्तिमा नयाँ भेरियन्ट फेला परेको छ । दक्षिण अफ्रिकाबाट आएका २ जनामा ओमिक्रोन देखिएको बेलायतका स्वास्थ्य मन्त्री साजिद जाभिदले बताएका हुन् ।

केही दिनअघि दक्षिण अफ्रिकामा पत्ता लागेको कोरोना भाइरसको यो नयाँ भेरियन्ट बोत्स्वाना र हङ्‌कङ पनि पाइएको छ । उता इजराइलले पनि ओमिक्रोन भेरिअन्ट पुष्टि भएको भन्दै आइतबार मध्यरातबाट विदेशीहरूलाई आफ्नो मुलुक प्रवेशमा रोक लगाएको छ ।

त्यस्तै, जर्मनीमा समेत नोभेमबर २४ गते दक्षिण अफ्रिकाबाट आएका २ यात्रुमा ओमिक्रोन भेरियन्ट पुष्टि भएको म्युनिखस्थित माइक्रोबायोलोजी केन्द्र म्याक भोन पेटेनकोभरले बताएको छ ।

नेदरल्याण्डको नेशनल इन्स्टिच्युट फर पब्लिक हेल्थका अनुसार दक्षिण अफ्रिकाबाट दुई उडानमा आएकामध्ये ६१ यात्रुमा कोरोना सङ्क्रमण पुष्टि पछि उनीहरूलाई आइशोलेशनमा राखिएको छ । जिन सिक्वेन्सिङमार्फत् ती व्यक्ति नयाँ भेरियन्टबाटै संक्रमित भए वा नभएको निर्धारण हुने इन्स्टिच्युटले जनाएको छ ।

इटलीमा पनि मोजाम्बिकबाट फर्किएका एक व्यक्ति ओमिक्रोन भेरियन्टबाट संक्रमित भएको र दुई बालबालिकासहित परिवारका अन्य पाँच सदस्यमा समेत कोरोना सङ्क्रमण पुष्टि भएको त्यहाँको समाचार माध्यम लाप्रेसेले जनाएको छ ।

ओमिक्रोन पत्ता लागेको समाचार बाहिर आए लगत्तै कैयौँ मुलुकले दक्षिण अफ्रिकी क्षेत्रबाट हुने हवाई उडानमाथि प्रतिबन्ध लगाइसकेका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्