प्रदेश १

भोजपुरमा पाँच करोडमा निर्माणाधीन पक्की पुल भासियो

By Thah Online

November 28, 2021

भोजपुर  । भोजपुरको कावाखोलामा पाँच करोड बढीको लागतमा निर्माणाधीन पक्की पुल भाँचिएको छ । हतुवागढी गाउँपालिका–२ रानीबास र रामप्रसादराई गाउँपालिका–५ मानेभञ्याङलाई जोड्न कावा खोलामा स्वीस सरकारको आर्थिक सहयोगमा निर्माण भइरहेको पुल भाँचिएको हो ।

४५ मिटर लम्बाइ, ६ मिटर चौडाइ रहेको पुलमा दुवैतिर पैदल हिँड्न मिल्ने गरी बनाउन लागिएको थियो । ८० वर्षको आयु हुने र भूकम्प प्रतिरोधी बन्ने गरी डिजाइन भएको पुल बनिन सक्दै भाँचिएको हो । भोजपुर–मानेभज्याङ–रानीबास–घोडेटार सडकखण्डअन्तर्गत पर्ने सो पुल १२ फागुन २०७६ मा शिलान्यास गरिएको थियो । पुल ढलानपछि टेकाले थाम्न नसकेर भाँचिएको हो ।

भोजपुरलाई उत्तर–दक्षिण जोड्ने गरी कावा खोलामा पुल निर्माण सुरु भएपछि स्थानीयमा उत्साह थपिएको थियो । पुल निर्माण भएपछि सदरमुकामबाट दक्षिण हुँदै तराईका जिल्लामा जान सहज हुने विश्वास लिइएको थियो । पुलमा दुवैतर्फ एक दशमलव २० मिटर पैदल यात्रु हिँड्ने स्पेस पनि बनाइएको थियो । केवल ट्रस, खुला फाउन्डेसनको १ मात्रै स्पानमा बनिरहेको पुलको दुवैपट्टि पक्की पिलर बनाएर ट्रस जडान गर्नुपर्ने थियो ।

पुल भत्किएको विषयमा छानबिन गर्न काठमाडौँबाट विज्ञ टोली आउने पूर्वाधार विकास कार्यालय भोजपुरले जनाएको छ ।