प्रधानमन्त्रीओलीले गरे विप्लवलाई वार्तामा आउन आह्वान



काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीले संसदीय व्यवस्थाका विरुद्ध संघर्षरत नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालाई वार्तामा आउन आह्वान गरेका छन ।

विश्व किर्तिमान बनाउने लक्ष्यसहित राजधानीमा आयोजित बुद्धवचन ‘धम्मपद’ वाचन कायक्रममा बोल्दै प्रधानमन्त्री ओलीले आन्दोलनरत नेकपालाई वार्ता मार्फत आफ्ना माग पूरा गर्न आह्वान गरेका हुन ।

केही दिनअघि मात्र प्रहरीले विप्लवविरुद्ध पक्राउ पूर्जी जारी गरेको थियो ।

प्रधानमन्त्री ओलीले हिंसाको बाटो छोडी सम्वृद्ध नेपाल बनाउने काममा योगदान पुर्याउन आव्हान गरे ।

विश्व कीर्तिमान परिषद् नेपालको अगुवाइमा गरिएको उक्त कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विश्वमा शान्ति स्थापना गर्न आग्रह गर्दै सिरियामा भइरहेको हत्या हिंसाको विरोध पनि गरे ।

प्रधानमन्त्री ओलीले भने, “दुनियाँका सरकार तथा नेतालाई शान्तिपूर्ण तवरबाट अघि बढ्न आग्रह गर्दछु, हिंसा नगरौँ, शान्ति र मित्रताले अगाडि बढौँ ।”

ओलीले भने, “शाक्यमुनि बुद्धप्रति आदर सम्मानसहित सबैको तर्फबाट नमन गर्दछु, बुद्ध भूमिबाट शान्तिको कामना गर्दछु ।”

केही स्थानमा बुद्धका विषयमा भ्रम सिर्जना गर्न खोजिएको भन्दै उनले नेपालमा बुद्ध जन्मेको होइन भन्ने भ्रममा पर्नु नपर्ने जिकिर गरे । प्रधानमन्त्री ओलीले भने, “बुद्ध नेपालको लुम्बिनीमा जन्मेका हुन, यसमा विवाद नगरौँ ।”

कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीसहित पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीलगायत मन्त्रीहरु, कलाकार, विद्यार्थीसहित विभिन्न पेशा व्यवसायमा रहेका नेपालीले आज टुँडिखेलमा बसेर सामूहिक वाचन गरेका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्