अन्तर्राष्ट्रिय

१२ नेपाली महिलालाई केन्यामा बेच्ने क्यानाडेली व्यवसायीलाई ३० वर्ष जेल सजाय

By Thah Online

November 29, 2021

एजेन्सी । क्यानडाका व्यापारी आसिफ अमिराली अलीभाई जेठालाई मोम्बासा अदालत(केन्याको उच्च अदालत)ले  १२ नेपाली युवतीलाई बेचबिखन गरेको आ’रोपमा ३० वर्षको जेल सजाय सुनाइएको छ।

अदालतले जेठालाई १२ नेपाली महिलाको बेचबिखन गरेको, मानव बेचबिखनलाई बढावा दिएको र यात्रा कागजातमा हस्तक्षेप गरेको तीन वटा मुद्दामा दोषी ठहर गरेको हो।  

जेठालाई नेपाली युवतीको तस्करी र बेचबिखन तथा अरूको राहदानी नियन्त्रणमा लिएको जस्ता आरोप लगाइएको छ। उनलाई ११ लाख केन्याली मुद्रा सिलिङ जरिवाना पनि तोकिएको छ।  जेठाले नेपाली युवतीहरूलाई धोका दिएर शोषण गर्ने नियतले बन्दी जस्तै बनाइ राखेको पनि अदालतले ठहर गरेको छ।

मानव तस्करीमा परेका ती १२ नेपाली युवतीलाई मोम्बासास्थित रङ्गिला ग्रिल एन्ड बारबाट सन् २०१९ मा स्थानीय प्रहरीको सहयोगमा  महिलाहरूलाई उद्धार गरेका थिए।

ती नेपाली युवतीलाई डान्स बारमा डान्सरका रूपमा अफ्रिका लगिएको थियो। पछिल्ला वर्षमा नेपालबाट मानव तस्करको फन्दामा परेर नेपाली युवती अफ्रिकी देशहरूमा डान्सरका रूपमा जाने गरेका छन्।

तीमध्ये दुई बालिका १६ र १७ वर्षका थिए। आठ जना २२ देखी २६ वर्षका र दुई जना ३० वर्षभन्दा माथि उमेर समूहका महिलालाई केन्या लगिएको थियो ।