छाडा पशु चौपायाले बाली नष्ट गर्दा कपिलवस्तुका किसान चिन्तित



कपिलवस्तु । छाडा पशु चौपायाको संरक्षण नगर्दा कपिलवस्तुका किसानहरू मर्कामा परेका छन् । किसानले लगाएको खेती खाइदिने र कुचिदिने गरेपछि किसानहरू मर्कामा परेका हुन । छाडा पशु चौपायहरु रातिमा आउने र आफूहरूले लगाएको बालीमा क्षेति पुराए पछि दु:ख लागेको वाणगंगा नगरपालिका वडा नम्बर ८ धनेशपुरका कृषक दधिराम बस्नेतले बताउनुभयो ।

छाडा चौपायाले रातको समयमा आलु, तोरी, लगायतका अन्य तरकारी बालीमा क्षति पुर्‍याउने गरेको उहाँको भनाई छ । निराश हुँदै उहाँले भन्नुभयो”बल्लतल्ल खनजोत गरेर आलु लगाए रातभर गाई गोरु आएर खाने कुच्ने गरेपछि चिन्ता लाग्यो ” । हिउँदमा आलु, तरकारी गहुँ, मसुरो, तोरी तथा बर्षादमा लगाएको धान, मकै क्षति गरेको किसानको भनाई छ । समूहमा आउने छाडा चौपायाले बालीनाली खाने, कुच्ने, भाँच्ने गरेका छन् ।

यो समस्या यस वर्षको मात्रै होइन २ वर्षदेखि नै भोग्दै आएको किसानहरूको गुनासो छ । दैनिक २०/२५ वटा छाडा चौपायाले रातको समयमा आएर किसानले लगाएको तरकारी र अन्न बाली नष्ट गर्ने गरेको सोही स्थानमा बसोबास गर्ने खिमराज भट्टराईको दुखेसो छ । दिनभरि गाई वस्तु त्यति नदेखिने भए पनि रातको समयमा जागाराम बसेर खेतबारी हेर्नुपर्ने किसानको भनाई छ ।

रातिको समयमा ५÷६ पटक उठेर छाडा पशु धपाउनु पर्ने समस्या रहेको खिरु हमाल उचइ ले बताउनुभयो । आफूहरूले दुःख गरी लगाएको खेतिबाली भित्राउन नपाउँदै चौपायाले नष्ट पारिदिन थालेपछि कपिलवस्तुका सयौँ किसान चिन्तित भएका छन् । वाणगंगाका धनेशपुर, मोतीपुर, धैरेनीडाँडा, ढोडे कोल लगायतका स्थानमा छाडा पशु चौपायाको बिगबिगी बढ्न थालेपछि कयौँ किसान मारमा परेका छन् ।

दूध दिँदासम्म पाल्ने र दूध दिन छोडेपछि लखेटिदिने प्रवृत्तिले पनि छाडा पशु चौपायाको सङ्ख्या बढेको हो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्