सैघाली खबर,
काठमाडौं, २१ फागुन ।नेपाली कांग्रेस संसदीय दलको नेताका लागि सोमबार भएको मतदान भर्खरै सकिएको छ ।
बिहान १० बजे सुरु भएको मतदान केहीबेर अगाडि सकिएको हो । अबको केहीबेरमै मतगणना सुरु हुने निर्वाचन समितिका सदस्य सचिव केशव रिजालले जानकारी दिनुभयो । कांग्रेस संसदीय दलको नेताका लागि पार्टी सभापति शेरबहादुर देउवा र नेता प्रकाशमान सिंहले उम्मेदवारी दिनुभएको छ ।
प्रतिनिधिसभामा कांग्रेसका प्रत्यक्ष निर्वाचित २३ र समानुपातिकतर्फका ४० गरी ६३ जना सांसद छन् । संसदीय दलको नेतामा चुनाव जित्न ५० प्रतिशत मत कटाउनु पर्ने प्रावधानका कारण ३२ मत ल्याउने उम्मेदवार विजय हुनेछ ।
गणितीय हिसाबले देउवा दलको नेतामा चयन हुने सम्भावना बलियो देखिएको छ । कांग्रेस संसदीय दलको विधान अनुसार संसदीय दल कार्यसमिति २६ सदस्यीय हुनेछ । संसदीय दलको नेताको चुनावपछि संसदीय दल कार्यसमितिको चुनाव हुने सचिव रिजालले बताउनुभयो ।
संसदीय दलको उपनेता र राष्ट्रियसभा दलको नेता पनि संसदीय दलको नेताले नै तोक्ने कांग्रेस संसदीय दलको विधानमा उल्लेख छ । त्यस्तै, राष्ट्रियसभाका प्रमुख सचेतक प्रतिनिधिसभाको प्रमुख सचेतकको सिफारिसमा संसदीय दलको नेताले नै चयन गर्ने व्यवस्था छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।