पत्रपत्रिका

घरजग्गाको न्यूनतम र अधिकतम मूल्यको सीमा तोकिने

By Thah Online

December 23, 2021

काठमाडौं । सरकारले घरजग्गाको मूल्य नियन्त्रण गर्न सहयोग पुग्ने गरी मालपोत नियमावली संशोधनको प्रक्रिया अघि बढाएको छ । अहिले भएको नियमावलीले एक पटक न्यूनतम मूल्याङ्कन तय भइसकेपछि त्यसलाई घटाउन पाउने सुविधा दिएको छैन । त्यस्तै एक पटक अधिकतम थैली अङ्क राखेर लिखत पास भएपछि अर्को पटक किनबेच गर्दा त्योभन्दा कम मूल्यमा किनबेच गर्न पनि नपाउने व्यवस्था छ ।

यसरी एक पटक अधिकतम थैली अङ्क राखेर घरजग्गाको किनबेच भइसकेपछि उक्त जग्गाको मूल्य घट्दै घट्दैन भन्ने मनोविज्ञान हाबी हुँदा उक्त क्षेत्रमा घरजग्गाको मूल्य अस्वाभाविक रूपमा बढ्ने गरेको पाइन्छ । गैर कानुनी रूपमा सम्पत्ति आर्जन गर्ने व्यक्तिहरूले त्यसलाई वैधानिक बनाउन जति पनि थैली अङ्क राखेर किनबेच गर्दा त्यसले पनि घरजग्गाको मूल्य अस्वाभाविक रूपमा वृद्धि हुने गरेको पाइन्छ ।

सरकारले पहिलो चरणमा नियमावली संशोधन गरेर घरजग्गाको मूल्य घट्न पनि सक्छ भन्ने सन्देश दिने र दोस्रो चरणमा वैज्ञानिक मूल्य निर्धारण गरेर सबैलाई मान्य हुने एउटै मूल्याङ्कन लागू गर्ने निर्णय गरेको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सहसचिव जनकराज जोशीले बताए । आजको आर्थिक अभियान दैनिकमा समाचार छ ।