सैघाली खबर,
रोल्पा २२ फागुन। रोल्पामा फागुन महिनामा मात्र १२ दिनको बीचमा छुट्टाछुट्टै स्थानमा एक किशोरी र एक महिला गरी दुईजना बलात्कृत भएको भन्दै पीडित पक्षबाट उजुरी परेको जिल्ला प्रहरी कार्यालय रोल्पाले आज जनाएको छ ।
सुनछहरी गाउँपालिका फगाम रोल्पाका १७ वर्षीय किशोरले सोही गाउँपालिकामा पर्ने भित्री गामकी १५ वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा प्रहरीले पक्राउ गरी हिरासतमा राखेको छ । इलाका प्रहरी कार्यालय सुलिचौर, रोल्पाका अनुसार किशोर र किशोरीका बीच आठ(नौ महिनादेखि टेलिफोनमा सम्पर्क हुँदै आएको थियो ।
यसरी टेलिफोनमा हुने कुराकानीका क्रममा किशोरले किशोरीलाई विभिन्न किसिमका प्रलोभनमा पारेर आफ्नो घरमै लगी बलात्कार गरेको पीडित किशोरीको जाहेरीमा उल्लेख छ । पीडित पक्षबाट इप्रका सुलिचौरमा गतः बुधबार निवेदन परेपछि प्रहरी टोली घटनास्थलमा पुगी विस्तृत जानकारी लिएको थियो । अनुसन्धानपश्चात आवश्यक कारबाहीका लागि प्रहरीले प्रक्रिया अगाडि बढाउने पनि जनाएको छ ।
यसैगरी, रुन्टीगढी गाउँपालिका रोल्पाकी २८ वर्षीया महिलालाई १८ देखि २४ वर्ष उमेर समूहका पाँचजना युवकले फागुन पहिलो साता सामूहिक बलात्कार गरेको भनी उजुरी परेको इलाका प्रहरी कार्यालय, होलेरी, रोल्पाले जानकारी दिएको छ । साँझ करिब ७ बजेतिर गाउँकै पसलबाट आवश्यक खाद्य सामग्री लिएर फर्कने क्रममा ती महिला बलात्कृत भएकी हुन् ।
इप्रका रोल्पाका प्रनानी खडकबहादुर डाँगीका अनुसार चारजना अभियुक्तलाई हाल प्रहरीले पक्राउ गरी आवश्यक कारबाहीका लागि हिरासतमा राखिसकेको छ भने एकजना फरार रहेका छन् । उनको खोजीकार्य तीव्र पारिएको छ । यसरी बलात्कृत भएकी महिलालाई योजनाबद्ध तरिकाले अभियुक्तले बोल्न कराउन नदिई बलात्कार गरेको अनुसन्धानका क्रममा खुलेको इप्रकाले जनाएको छ ।
इलाका प्रहरी कार्यालयमा जाहेरी दिएपछि घटनाका बारेमा थप अनुसन्धान भइरहेको जिप्रका रोल्पाका मुद्दा फाँटका प्रहरी नायब निरीक्षक हेमन्त केसीले जानकारी दिए । उनका अनुसार दुवै घटनाका अभियुक्तलाई म्याद थप गरी अनुसन्धानपश्चात आवश्यक कारबाहीका लागि प्रक्रिया अगाडि बढाइनेछ ।khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।