पासाङ दोश्रो पटकपनि उपराष्ट्रपति बन्दै, यस्तो छ उनको राजनितिक यात्रा



काठमाडौं २३ फागुन
नेकपा एमालेले राष्ट्रपतिमा विद्या भण्डारीलाई नै दोर्हयाउने भएपछि उपराष्ट्रपतिमा पनि वर्तमान उपराष्ट्रपति नन्दबहादुर पुन पासाङ दोहोरिने निश्चित भएको छ ।
संविधान जारी भएसँगै निर्वाचित भएका वर्तमान राष्ट्रपति र उपराष्ट्रपति करिब अढाई वर्ष मात्र बहाल रहने भएकाले दुवै जनालाई फेरि दोहोराउनु पर्ने नेताहरुले बताउदै आएका थिए ।

मंगलबार मध्यराती सम्पन्न भएको एमाले स्थायी समिति बैठकले वर्तमान राष्ट्रपतिलाई नै दोर्हयाउने निर्णय गरेपछि अब उपराष्ट्रपति ‘पासाङ नै बन्ने निश्चित भएको माओवादी केन्द्रका एक नेताले बताए ।

स्रोतका अनुसार नेकपा एमाले अध्यक्ष केपी ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबिच वर्तमान राष्ट्रपति र उपराष्ट्रपतिलाई दोहर्‍याउने सहमति यसअघि नै भइसकेको छ ।

यसअघि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड निकट मानिने नेता हरिबोल गजुरेलले पनि पासाङ नै उपराष्ट्रपति हुने सञ्चार माध्यमलाई बताएका थिए ।
उनले भनेका थिए, ‘एमालेले राष्ट्रपति कायमै राखेमा हामीले पनि उपराष्ट्रपति कायमै राख्नुपर्छ भन्ने समझदारी भएको छ ।’

जनयुद्धको फौजी कमान्डर

राङ्सी–९, रोल्पामा २०२२ कात्तिक ७ गते जन्मिएका नन्दबहादुर पुन जनयुद्धमा पासाङ नामले चर्चित थिए ।

जनयुद्धको फौजी कमान्डर

जनयुद्धमा जनमुक्ति सेनाका कमाण्डरको जिम्मेवारी सम्हालेका रहेका पासाङ शान्ति प्रक्रियामा आएपछि पनि जनसेनाको कमाण्डार थिए ।सेना समायोजन र शान्ति प्रक्रियामा महत्वपूर्ण भुमिका खेलेका पासाङ सेना समायोजनपछि राजनीतिक मोर्चामा आएका हुन् ।

पहिलो सदरमुकाम कब्जा डोल्पाको दुनै, पहिलो क्षेत्रीय सदरमुकाम कब्जा कर्णालीको जुम्ला पासाङकै फौजी नेतृत्वमा भएका थिए । दाङको घोराही, अछामको मङ्गलसेन, अर्घाखाँचीको सन्धिखर्क, म्याग्दीको बेनी उनकै नेतृत्वमा कब्जा भएका हुन् । रोल्पाको गाम, लिस्नेमा तत्कालीन शाही सेनालाई पराजित गर्दा पासाङ नै कमान्डर थिए । शान्ति प्रक्रियाका एक निर्णायक पात्र भएकोले पनि उनलाई सम्मानित स्थानमा राख्न सबै नेताहरु सहमत छन् ।

नयाँ संविधान जारीपछि २०७२ कात्तिक १४ मा व्यवस्थापिका संसदमा भएको उपराष्ट्रतिको निर्वाचनमा उनी दोस्रो उपराष्ट्रपतिमा निर्वाचित भए ।

तत्कालीन सत्तारूढ गठबन्धन एकीकृत नेकपा माओवादी, नेकपा एमाले, मधेसी जनअधिकार फोरम लोकतान्त्रिक, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा माले, नेकपा संयुक्त, राष्ट्रिय जनमोर्चा लगायत १५ दलको संयुक्त उम्मेदवार उहाँले कुल ५४७ मध्ये ३२५ मत प्राप्त गरेर उपराष्ट्रपतिमा विजयी भएका थिए ।

राजनीतिक यात्रा
पासाङ २०४६ मा तत्कालीन मशालको पार्टी सदस्य बनेर राजनीतिमा लागेका हुन् । उनलाई वासुदेव भन्ने नेताले पार्टी सदस्यता दिए भने शैक्षिक गुरु कृष्णबहादुर महराबाट पार्टी सदस्यता नवीकरण गरे।

२०४८ मा भएको एकता महाधिवशेनबाट बनेको एकताकेन्द्र मशालको सदस्य तथा युवक सङ्गठनको सदस्य हुँदै जिम्मेवारी बढ्दै जाँदा २०४८ देखि पूर्णकालीन सदस्य भएर काम गरे ।

एकताकेन्द्र बनेलगत्तै रोल्पाको प्रथम जिल्ला सम्मेलनबाट जिल्ला सदस्यमा चयन भए । कृष्णबहादुर महरा सेक्रेटरी रहनु भएको पाँच सदस्यीय जिल्ला समितिमा पासाङ, सन्तोष बुढा, इन्द्रबहादुर बुढा र जोखबहादुर महरा सदस्य थिए ।

जनयुद्ध तयारी गर्दा वाईसीएलको रोल्पा जिल्ला अध्यक्ष र सैन्य प्रशिक्षक रहेका पासाङ २०५२ फागुन १ मा तत्कालीन नेकपा माओवादी ले जनयुद्ध सुरुवात गर्दा देशका चार ठाउँमा गरेको आक्रमणमध्ये रोल्पाको होलेरीमा रहेको इलाका प्रहरी कार्यालयमा आक्रमण गर्दा उत्तर–पश्चिम र दक्षिण कमान्डका लडाकु दलको इन्चार्ज र आक्रमणको सहकमान्डर थिए ।

पासाङ २०५४ मा पार्टीको क्षेत्रीय व्युरो सदस्य भए । २०५७ मा भएको पार्टीको दोस्रो राष्ट्रिय सम्मेलनबाट पार्टी केन्द्रीय सदस्य र भारतको गोवामा २०६० मा बसेको केन्द्रीय समिति बैठकबाट पोलिटव्युरो सदस्य भए ।२०६९ मा भएको सातौँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा चुनिए । २०७० वैशाखमा भएको विराटनगर सम्मेलनबाट पुनः केन्द्रीय सदस्यमा भए । लगत्तै जेठमा भएको पदाधिकारी, स्थायी समिति र पोलिटव्युरो सदस्यको निर्वाचनमा उनी स्थायी समिति सदस्यमा निर्वाचित भएका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्