२३ फागुन
काठमाडौँ । नेकपा एमालेले वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीलाई नै पुनः राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ ।
एमालेको यो निर्णयसँगै विभिन्न प्रतिक्रिया उत्पन्न भएका छन् ।
पार्टीभित्र वरिष्ठ नेता झलनाथ खनालले पनि राष्ट्रपति बन्ने आकांक्षा राखेका थिए ।
जीवनभर राजनीतिमै लागेको व्यक्ति त्यति आशा गर्नु स्वाभाविकै हुन्छ ।
तर, पटक पटक एउटै व्यक्तिलाई दोहोर्याउने निर्णय अस्वाभाविक हुन्छ ।
एमालेको निर्णले मर्ने बेलासम्म पदमा बसिरहने नेपाली राजनीतिको रोग दोहोरिएको प्रतिक्रिया आएका छन् ।
यसैबीच पूर्व डीआईजी पार्वती थापा मगरले एउटै व्यक्तिलाई दोहोर्याउनु भन्दापनि अन्य ऊर्जाशील व्यक्तिले अवसर पाउनु पर्ने बताएकी छन् ।
थापामगरले सबै आफूले नै खाउँ र अरु मरुन् भन्ने नियतका कारण आफू सिनियर हुँदाहुँदै डीआईजीबाटै विदा लिनु परेको समेत उल्लेख गरेकी छन् । थापाले सामाजिक संजालमा व्यक्त गरेको धारणाः
सन्दर्भ नेपालको राष्ट्पति को होला भन्ने हो ?
संसारका मानिस स्वार्थी प्राणी मध्यको एक हो तर सबै एउटै प्रवृतिका हुन्छन् भन्ने छैन । मैले मेरो युवा जोश जागर सबै खर्चेर नेपाल प्रहरी सेवामा समर्पित भएर तीस वर्ष काम गर्दा जहिले पनि कामलाई प्राथमिकता दिने क्रममा पाँच वर्षको बच्चालाई पुलीस बोडिङ साँगामा राखेर काम गरेँ । त्यहि लगनशीलता र तपस्याले गर्दा नै नेपाल प्रहरीको डीआईजीसम्म पुगे । म भन्दा पहिला कोही पनि महिला डीआईजीको पदसम्म पुगेको थिएनन् । तीस बर्ष सेवा अवधि पुग्न दुई महिना बाँकी थियो ।
आईजीपी हुने मौका त दिएनन् दिएनन् तर सातवटा सिट एआईजीपीको खाली नै राखेर मलाई रिटायर्ट गराए । एआईजी पनि दिएनन् खिले रेग्मी र माधव घिमिरे (जो त्रिशुली नदीमा दुई भाईहरूसहित लिएर पसेका छन्) ले तात्कालीन अवस्थामा पकेटको पद बनाएका थिए । दुई महिनाकोलागि आईजीपी बनेपछि स–सम्मान् घर जाने मैले मानसिकता बनाई सकेको थिए ।
किसानको छोरी हुँ सँगै पढेका साथीहरूलाई उनीहरूका अविभावकहरूले छोरीलाई धेरै पढाएर के गर्ने भनेर १४–१५ वर्ष मै विवाह गरिदिएपछि अहिलेसम्म उनीहरूले वन पाखामा घाँस दाउराको भारीलाई छोड्न सकेका छैनन् । तसर्थ डीआईजी पद पनि मेरो लागि ठूलो प्राप्ति हो ।
म न्यायको अनूयायी , न्याय संगत अधिकार प्राप्ति मात्र मेरो लक्ष्य थियो । दुई महिना आईजीपी भएपछि छोड्दैन भन्ने आशंकाले न्वारनदेखिको बल देखाएर म भन्दा एघार महिना जुनियर डीआइजी उपेन्द्रकान्त अर्यालले अनेक टिकडम गरेर मेरो दुई महिने आईजीपी पद हडपेर आफ्नो भागमा ल्पस गरेर ठूलै पुरूषार्थ देखाए ।
तर, म त्यति स्वार्थी छैन म आफ्नो भाग खाएर अरूको भाग हडप्नलाई अरू अवधि आफ्नो बढाउनलाई अरूलाई अन्याय गरेर अनावश्यक विवादमा फस्ने मेरो चाहाना पनि थिएन र मबाट कदापी त्यस्तो हुँदैन्थ्यो । सबैलाई एउटै टोकरीमा हालेर एउटै चश्माले हेर्ने प्रवृती कहिलेसम्म हावी भइरहने हो भन्ने सोचनिय विषय हो ।
यसै सन्दर्भमा राष्ट्रपति पदको प्रसंग
हाम्रो जस्तो थोरै मात्र अवसर भएको देशमा एक जनाले कुनै एउटा उच्च तहमा एक पटक आसन्न हुने अवसर प्राप्त गर्नु भनेको ठूलै उपलब्धि मान्नु पर्दछ । तर त्यहि पदमा लिसो जस्तो भएर टासिएर बस्ने कुर्सी मोह साह्रै ठूलो सरूवा रोग जस्तो भएर देखिएको छ । गिरीजाले पार्टीको सभापति पद आर्यघाटसम्मै लगे झैं अरूपनि त्यहि पदचाप पछ्याउदै छन् ।
कुनैपनि पद तपाईँलाई आवश्यक होइन कि त्यो पदभारले तपाईलाई पछ्याउने स्थितिको सिर्जना तपाईँ त्यो पदभार बोकेर बस्दाको काम कारवाही र परिवर्तनले गर्न सक्नुपर्दछ । कुनैपनि पदमा रहेर फरक ढंगले काम गरेर उदाहरणिय बनेका व्यक्तित्वहरू जस्तै गोकर्ण विष्ट, लालबावु पण्डित, गगन थापा, जनार्दन शर्मा र कर्मचारी कुलमान घिसिडङजस्ता व्यक्तिहरूलाई त्यस्ता पदहरू आाफै पछ्याइरहेका हुन्छन् ।
तपाईँबाट जनताले अझ बढि सुधारको अपेक्षा राखेको र तपाईँको अभाव खड्किएको हुनुपर्दछ त्यस्ता पदहरूप्रति अरू भागीदार हुनलाई । त्यस्ता कुर्सीहरूलाई जागीर खाने र ऐस आरामको कुर्सी बनाइनु हुँदैन । ससम्मान निस्वार्थ ढंगले अरू साथीहरूलाइ आफ्नो कुर्सी छोडिदिँदा तपाईँप्रतिको सम्मान झन बढ्दछ । तर यहाँ यस्तो विडम्वना छ, बलवुताले भ्याएसम्म अनेक टिकडम अपनाएर पदलिप्त भईरहने कुरीकुरी पनि नमानेर ।
यस्तै परिस्थिती नजिकबाट नियाल्दै लेखे होलान् एक महान कविलेः
‘मै खाउँ मै लाउँ सुख सयल मै गरूँ
मै हाँसु मै बाचुँ
अरू सब मरून दुर्वलहरू…’ भन्ने कविताका हरफहरू सार्थक बनाउन खोजेझैं हालका नेपालका सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीले पुनः सोही पद दोहोर्याउन खोज्नु भनेको अलि स्वार्थीपना जस्तो देखिएन र ? उहाँभन्दा अगाडिदेखि पार्टीलाई बढि योगदान दिएका, जेलनेल खाएका र योग्य व्यक्तिहरूको ताती पनि लामै होला नी ।
राष्ट्रपति पदमा विराजमान हुन पाउनु पनि जीवनमा यति ठूलो उपलब्धी प्राप्ति हो । यतिकैमा सन्तुष्ट हुँदा राम्रो हुन्छ होला भण्डारी म्याडम । होइन भने अन्य तपाईँजस्तै हजारौं शहिद परिवारका आशुको श्राप लाग्ला चेतना भया ।
ओली सरबाट पनि यस्ता कुरामा विवेकशिल भएर आफ्नो इतिहास सुनौंला अक्षरले लेख्ने काम भएमा छवि अझ राम्रो हुनेमा दुइ मत छ र ?

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।