कतारले राखेको रातो सूचीमा ५४ देश, नेपाल कति स्थानमा ?



काठमाडौँ ।  कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनबाट सङ्क्रमितको सङ्ख्या बढेपछि कतार सरकारले नेपाललाई रातो सूचीमा राखेको छ। कतारले ओमिक्रोनको सङ्क्रमण उच्च देखिएका नेपालसहित ५४ देशलाई रातो सूचीमा राखेको हो।

कतारको जनस्वास्थ्य मन्त्रालयले नेपाललगायत भारत, इजिप्ट, बङ्गलादेश, बोत्सवाना, लेसोथो, नामिबिया, पाकिस्तान र जिम्बाब्वेलाई असाधारण रातो सूचीमा राखेको छ । त्यसै गरी टर्की, बेलायत र संयुक्त राज्य अमेरिका पनि हरियो सूचीबाट रातो सूचीमा परेको खरबटाइम्सले जनाएको छ ।
कतार भित्रिने यात्रुहरूका लागि परिवर्तित सूची अनुसारको कोरोना नियन्त्रण मापदण्ड जनवरी ८, शनिवार बेलुकी ७ बजेबाट लागू हुनेछ ।

कतार सरकारले ओमिक्रोन देखिएका देशबाट प्रवेश गर्ने नागरिकलाई नयाँ स्वास्थ्य मापदण्ड लागू गर्दै कतार उड्नु पूर्व ७२ घण्टाअघिको पीसीआर नेगेटिभ रिपोर्ट नभएका र कोरोनाविरुद्धको खोप नलगाएकालाई प्रवेशमा निषेध लगाएको छ।

यसै गरी रातो सूचीमा परेका देशबाट कतारमा पुगेका नागरिकलाई अनिवार्य दुई दिन होटल क्वारेन्टाइनमा बस्नुपर्ने व्यवस्था गरेको छ। कतारको दोहास्थित नेपाली दूतावासका अनुसार कतार भित्रिने यात्रुका लागि परिवर्तित सूचीअनुरूप कोरोना नियन्त्रण मापदण्ड शनिवार देखी लागू हुनेछ। कोरोना विरुद्धको खोप नलगाएका यात्रुहरूले कतारमा जान पाउने छैनन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्