उपक्षेत्रिय अस्पतालको प्रसूति सेवा जोखिममा



जनक नेपाली

दाङ, २३ फागुन । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत राप्ती उपक्षेत्रीय अस्पताल घोराहीमा आइसियु र एनआइसियु उपलब्ध नहुँदा प्रसूति सेवा जोखिममा पर्ने गरेको छ ।

सरकारी निर्णयअनुसार उपक्षेत्रीय स्पतालमा स्तरोन्नति भए पनि हालसम्म आइसियु र एनआइसियु सेवा सञ्चालन हुन सकेको छैन । सरकारले अस्पताललाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत समाहित गर्ने निर्णय गरेपछि आइसियु सेवा सञ्चालनमा थप अन्योलता छाएको छ ।

आइसियु सेवा उपलब्ध नहुँदा सुत्केरी आमा र नवजात शिशुले निकै जोखिम मोल्नु परेको सर्वसाधारणहरु बताउँछन् । अहिले भएका प्रसूति कक्षका उपकरण पनि थोत्रा भइसकेका छन् । पुरानो भवन, साँघुरो कोठा र फोहोर वातावरणका कारण सुत्केरी महिला तथा नवजात शिशु थप जोखिममा पर्ने गरेका छन् । अस्पतालमा कुरुवाहरुलाई समेत उचित बस्ने व्यवस्था छैन । विरामी कुरुवाहरु अहिले पनि रातको समय बाहिर खुल्ला चौरमा बस्नुपर्ने बाध्यता छ ।

तुलसीपुर उप–महानगरपालिका १५ की सुशीला रेउलेले समयमा डाक्टर नै नभेटिदा समस्या भएको बताउनुहुन्छ । समयमा डाक्टर नभेटिदा आफुले धेरै पीडा खेप्नुपरेको उहाँको गुनासो छ । ‘बच्चा नजन्मिदै डाक्टर एक पटक आउनुभयो, जन्मिएपछि अर्को पटक मात्रै देखिनुभयो, बीचमा डाक्टरहरु आउनुभएन,’ रेउलेले भन्नुभयो ।

प्रसूतिका लागि आउने गर्भवती महिलाहरुलाई ‘सिकारु’ नर्सहरुले मात्र हेर्ने गरेको उहाँको आरोप छ । राप्ती उपक्षेत्रीय अस्पताल प्रसूति वार्डमा कार्यरत स्टाफ नर्स कमला पोख्रेल जनशक्ति र उपकरण अभावले सुत्केरी आमा र नवजात शिशुलाई आवश्यक सेवा दिन नसकिएको स्वीकार गर्नुहुन्छ । आइसियु र एनआइसियु सेवा नहुँदा सुत्केरीलाई गम्भीर अवस्थामै रिफर गर्नुपर्ने बाध्यता रहेको पोख्रेलको भनाई छ ।

अस्पतालमा प्रसूति सेवाका लागि ३ वटा कोठामा १७ वटा वेड छन् । तर कहिलेकाँही बिरामी ह्वात्तै बढ्ने भएकाले गल्लीमै राखेर उपचार गर्नुपर्ने बाध्यता छ । नवजात शिशुहरुको मुटुको धड्कन जाँच गर्ने मेसिन अहिलेसम्म अस्पतालमा नभएकाले गम्भीर संक्रमण देखिएका नवजात शिशुहरुलाई रिफर गर्नुपर्ने बाध्यता रहेको उहाँले बताउनुभयो ।

राप्ती उपक्षेत्रीय अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। जनार्दन पन्थीले भने प्रसूति सेवा प्रभावकारी रहेको दावी गर्नुभयो । अस्पतालले दिने अरु सेवाभन्दा प्रसूति सेवा उत्कृष्ट रहेको उहाँको भनाई छ । ‘विगतको तुलनामा प्रसूति सेवाको रिफर दर घटेको छ, अहिले पनि सेवा सुधारोन्मुख नै छ,’ पन्थीले भन्नुभयो ।

आइसियु र एनआइसियु सेवा सञ्चालनको काममा अवरोध आएको उहाँले जानकारी दिनुभयो । प्रतिष्ठान स्थापनाले अस्पतालमा आइसियु सेवा सञ्चालनको काम अन्योलमा परेको पन्थीले बताउनुभयो ।

अस्पताल विकास समितिको आइसियु र एनआइसियु सेवा सञ्चालन तथा जनशक्ति व्यवस्थापनको काम निर्माणकै चरणमा रोकिएकाले थप समस्या उत्पन्न भएको उहाँको भनाई छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्