सेनाको जागिर छाडेर भिजिट भिसामा दुबई पुगेका ११८ नेपाली अलपत्र



काठमाडौँ । सेनाको जागिर छाडेर दलालमार्फत भिजिट भिसामा दुबई पुगेका ११८ नेपाली अलपत्र परेका छन् । आकर्षक रोजगारीको प्रलोभनमा परेर दलालमार्फत दुबई पुगेका ११८ नेपाली युवा अलपत्र परेका हुन्। पटक–पटक गरेर चार/पाँच महिनाअघि मनग्य तलबसहित आकर्षक जागिर पाउने आशामा भिजिट भिसामा दुबई पुगेका उनीहरू अलपत्र परेका हुन् ।

यसरी गएकामध्ये ४ दर्जनभन्दा बढी युवा नेपाली सेनाको जागिर छाडेर आएका हुन् भने कोही सेनाकै अवकाश प्राप्त छन् । आफूलाई भिजिट भिसामा दुबई ल्याएर काम लगाउँछु भन्दै बिचल्ली बनाउने टिमका मुख्य नाइके कोमलराज उपाध्याय रहेको पीडितको भनाइ छ । उपाध्याय त्रिनेत्र कन्सल्टेन्सीका मालिक हुन् ।

उनको मुख्य संलग्नतामा अन्य दलालहरु खगेन्द्र लम्साल, राजन ठकुरी, भुपेन्द्र बोहोरा, आदित्य रसाइली, होम बहादुर खड्का, सिम्रन रसाइलीले दुबईको विभिन्न कम्पनीमा कामदार माग गरिएको भन्दै नक्कली मागपत्र बनाई युवाहरूलाई झुक्याएर दुबई पुगेका थिए ।

दुबईस्थित अलफैदीमा कार्यालय रहेको त्रिनेत्र म्यानेजमेन्ट कन्सल्टेन्सीका मालिक उपाध्यायसहितको टिमले प्रतिव्यक्ति १ लाख ७० हजार देखि ८ लाख रुपैयाँसम्म असुल गर्ने गरी यी युवालाई भिजिट भिसामा दुबई ल्याएका हुन् ।

केही पीडित युवाले कुल लाग्ने रकमको आधा अर्थात् करिब ४ लाख रुपैयाँ नेपालमा तिरेको र बाँकी रकम अफर लेटर आएपछि तिर्ने सहमतिमा दुबई आएको बताए । उनीहरुले त्रिनेत्र म्यानेजमेन्ट कन्सल्टेन्सीका मालिक कोमलराज उपाध्यायको श्रीमती रञ्जना ढकाल प्याकुरेलको नाममा रहेको प्रभु बैङ्कको खातामा नेपालमै रकम जम्मा गरेका थिए ।

दुबई आएको लामो समय भए पनि पीडित युवाहरू र दलालबिच सहमति भए अनुसारको काम नभएपछि मात्र उक्त समस्या बाहिर आएको हो । त्रिनेत्र म्यानेजमेन्ट कन्सल्टेन्सीका मालिक उपाध्यायले आर्म्स गार्डमा काम लगाइदिन्छु भन्दै यहाँ ल्याएपछि बन्धक बनाएर राखेको पीडित श्रीराम रानाभाटले जानकारी दिए ।

नेपाली दूतावास आबुधावीले उक्त घटनालाई निकै गम्भीरतापूर्वक हेरिएको बताएको छ । दूतावासकी श्रम काउन्सिलर निर्मला थापाका अनुसार उक्त घटनाबारे श्रम मन्त्रालयका उच्च पदाधिकारीले दूतावासमा सम्पर्क गरेकाले पीडितहरूसँग पनि सम्पर्क भइरहेको छ ।

अध्यागमनका कर्मचारीले केही दिन अघि मात्र एउटा सहकारी संस्थाका पदाधिकारीहरू भिजिट भिसामा दुबई घुम्न जान लागेको अवस्थामा उनीहरूलाई फर्काएको थियो । तर दलालहरूले आफ्नो पहुँच र अध्यागमनका कर्मचारीलाई कमिसन बुझाएर यस्तो काम सहज रूपमा गर्दै आइरहेका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्