दलितमाथि अत्याचार नरोकिए आन्दोलन गर्ने दलित अगुवाहरूको चेतावनी



घोराही,दाङ । दाङको घोराहीमा गैर दलित बाहुन क्षेत्रीहरूको सहभागितामा राष्ट्रिय दलित मुक्ति जागरण अभियानको जागरण आमसभा सम्पन्न भएको छ ।

जागरण अभियानका पश्चिम संयोजक खगेन्द्र सुनारले दलितहरूमाथिको अत्याचार नरोकिए दलित आन्दोलनले जस्तोसुकै मूल्य चुकाउन अब पछि नहट्ने चेतावनी दिए । अभियानका पूर्वी संयोजक राजेश विद्रोहीले ७२ वर्षको लोकतान्त्रिक अभ्यासको इतिहासमा पटक पटकको परिवर्तनको इतिहासमा दलितलाई दयनीय बनाएका वर्ग र समुदायले नै नेतृत्व गरेकोमा आपत्ति जनाए । उनले अबको सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक युग दलितहरूको भएको जिकिर समेत गरे ।

जागरण अभियानका दाङ जिल्ला संयोजक केशव नेपालीको अध्यक्षतामा आयोजित कार्यक्रमको प्रमुख अतिथि पश्चिम संयोजक खगेन्द्र सुनार र विशिष्ट अतिथि पूर्वी संयोजक राजेश विद्रोही रहेका थिए । कार्यक्रमको उद्घोषक गैर दलित समुदायबाट सशक्त सामाजिक अभियन्ता विष्णु देवकोटाले गरेका थिए ।

यस्तै अतिथिहरूमा प्रेम बिस, जोगिन्दर विश्वकर्मा, निर्मला बिक, सप्तरी संयोजक प्रथमलाल राम, बाँके संयोजक प्रेम बैगार, सचिन गन्दर्भ, खड्क बुढाथोकी लगायतका थिए । हजारौँको सङ्ख्यामा उपस्थिति कार्यक्रममा दलित समुदायले आफ्नो पहिचान र संस्कृति झल्किने गरी बाजागाजा सहित नगर परिक्रमा गर्दै सभा स्थल पुगेका थिए ।

कार्यक्रममा विभिन्न सांस्कृतिक कलाको प्रस्तुति पनि प्रस्तुत भएको थियो । उक्त जागरण सभामा गैर दलित समुदायबाट सुनिल देवकोटा, प्रकाश श्रेष्ठ, सरोज शाह, भव डाँगी, राजु खनाल, अनिता देवकोटा, शङ्कर डाँगी लगायतको सहभागिता समेत थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्