धरौटी बझाउन नसकेपछि देउखुरी सहकारीका पूर्व अध्यक्ष भण्डारी र ज्ञवाली कारागार चलान



भालुवाङ । सहकारी संस्थाको रकम हिनामिना मुद्दामा संस्थाका दुई जना पूर्वअध्यक्षहरु कारागार चलान भएका छन् । देउखुरीको राप्ती गाउँपालिका—५ सिसहनियाँमा प्रधान कार्यालय रहेको देउखुरी बचत तथा ऋण सहकारी संस्थाको ५ करोड बढी रकम हिनामिना गरेको आरोपमा साबिक महाप्रभु बचत तथा ऋण सहकारी संस्थाका पूर्व अध्यक्ष किरण भण्डारी र रुक्माङगत ज्ञवाली कारागार चलान भएका हुन् । 

पुस २५ गते आइतबार भण्डारी र ज्ञवाली आफै दाङ देउखुरी जिल्ला अदालत घोराहीमा उपस्थित भएर बयान दिए लगत्तै भएको थुनछेक बहसबाट अदालतका मुख्य न्यायधिस रितेन्द्र थापाको इजलासले भण्डारी र ज्ञवालीलाई जनही ५०/५० लाख धरौटी माग गरेको थियो ।  

माग गरेको धरौटी बुझाउन नसकेपछि अदालतले तत्काल पुर्पक्षका लागि भण्डारी र ज्ञवालीलाई कारागार चलान गरेको अदालतका सूचना अधिकारी राजेन्द्रकुमार शर्माले जानकारी दिएका छन् । भण्डारी र ज्ञवाली हाल कारागार कार्यालय घोराहीको थुनामा रहनु भएको अदालतका सूचना अधिकारी शर्माले जानकारी दिए ।  

सोही सहकारी संस्थाको रकम हिनामिना मुद्दामा संस्थाका पूर्व कोषाध्यक्ष रामकृष्ण पौडेल भने धरौटी बुझाएर छुट्नु भएको छ । सोही दिन पौडेल पनि आफै दाङ देउखुरी जिल्ला अदालत घोराहीमा उपस्थित भएर बयान दिएका थिए । बयान दिए लगत्तै अदालतका मुख्य न्यायधिस रितेन्द्र थापाको इजलासमा भएको थुनछेक बहसबाट पौडेल सँग २५ लाख धरौटी माग गरेको थियो । 

पौडेलले सोही दिन नै माग गरेको धरौटी अदालतमा बुझाएपछि मुद्दाको अन्तिम टुङ्गो नलाग्नुजेल सम्मका लागि तारिखमा रहने गरी छोडेको अदालतका सूचना अधिकारी राजेन्द्रकुमार शर्माले जानकारी दिए । भण्डारी र ज्ञवाली साबिक महाप्रभु बचत तथा ऋण सहकारी संस्थाका पूर्व अध्यक्ष पदमा रहनु भएको थियो भने पौडेल कोषाध्यक्ष पदमा रहनु भएको थियो । 

सहकारीको रकम हिनामिना गरेको आरोपमा ४ जना कर्मचारीलाई यस अघि नै दाङ—देउखुरी जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गर्न आदेश गरेको थियो । ती मध्ये तीन जना कर्मचारीहरू प्रताप चौधरी, विकास न्यौपाने र मनिराम भण्डारी उच्च अदालत तुलसीपुरमा १७ नम्बर गरी धरौटीमा रिहा भएका छन् । 

केही दिन पहिले दाङ—देउखुरी जिल्ला अदालतले सहकारीका २५ जनालाई पक्राउ गर्न पक्राउ पुर्जी नै जारी गरेको थियोे । केही महिना पहिले मात्रै चार वटा सहकारी संस्था मिलाएर देउखुरी बचत तथा ऋण सहकारी संस्था निर्माण गरिएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्