आज रातिदेखि काठमाडौँ उपत्यकामा नयाँ नियम लागू, अब के-के गतिविधि गर्न पाइने, के नपाइने ?



काठमाडौँ। कोरोना भाइरसको सङ्क्रमणलाई मध्यनजरमा राख्दै काठमाडौँ उपत्यकाका तीन वटा प्रशासन कार्यालयले सूचना जारी गरेको छ।मङ्गलवार बसेको बैठकले बढ्दो सङ्क्रमणलाई मध्यनजरमा राख्दै यसको रोकथाम, नियन्त्रण र उपचारलाई थप प्रभावकारी बनाउन आदेश जारी गरेको हो ।

सो आदेश मङ्गलवार राति १२ बजेदेखि लागू हुने काठमाडौँ प्रशासन कार्यालयले जारी गरेको आदेशमा उल्लेख छ। प्रशासनले १८ वटा बुँदामा आदेश जारी गरेको छ। घर बाहिर वा सार्वजनिक स्थलमा निस्किँदा सबैले अनिवार्य मास्कको प्रयोग गर्ने, भौतिक दूरी कायम गर्ने, साबुन पानीले हात हुनेलगायत स्वास्थ्य मापदण्डको पालना गर्न आदेश गरेको छ ।

त्यस्तै २५ जना भन्दा बढी मानिसको उपस्थिति हुने गरी कुनै पनि किसिमको मेला भेला तथा महोत्सवहरू एवं सामाजिक लगायतका कार्यहरू नगर्ने, सार्वजनिक स्थानहरू (कार्यालय, होटेल, रेष्टुरेण्ट, सिनेमा हल, रङ्गशाला, हवाई यात्रा, पार्क आदि) मा प्रवेश गर्दा यही माघ ७ गते देखि कोभिड १९ विरुद्धको खोप लगाएको कार्ड (मोबाइलमा फोटो भए पनि हुने) साथमा राख्ने र यस्ता सबै निकायहरूले खोप कार्ड हेरेर मात्र प्रवेश दिने व्यवस्था गर्ने पनि आदेश दिइएको प्रशासनले जनाएको छ ।

साथै, सार्वजनिक सवारीका साधनहरूमा नियमित सेनिटाइज गर्नुपर्ने, चालक, सहचालकदेखि बसमा सवार सबैले अनिवार्य मास्कको प्रयोग गर्नुपर्ने बताइएको छ।

यसै गरी जिल्ला प्रशासन कार्यालय ललितपुरले पनि काठमाडौँ प्रशासनले जस्तै १८ वटै बुँदामा विभिन्न आदेशहरू जारी गरेको छ । जसमा काठमाडौँ प्रशासनको जस्तै सार्वजनिक स्थानमा भीड नगर्ने, भौतिक दूरीको पालना गर्ने, अनिवार्य मास्कको प्रयोग गर्नेलगायतका आदेशहरू रहेका छन्।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्