कोरोनाको त्रासमा सिंहदरबार, चार सचिवसहित सयभन्दा बढी कर्मचारीमा संक्रमण पुष्टि



काठमाडौं। मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार कोरोना भाइरस महामारीको त्रासमा परेको छ । 

स्रोतका अनुसार सिंहदरबारभित्रका चार सचिवसहित सयभन्दा बढी कर्मचारीलाई कोरोना सङ्क्रमण पुष्टि भएपछि त्रास बढेको हो । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका तीन सचिवलाई कोरोना भएको छ । प्रधानमन्त्री कार्यालयका सचिवहरू शिशिरकुमार ढुङ्गाना, रामप्रसाद थपलिया र कृष्णबहादुर रावतलाई कोरोना सङ्क्रमण भएको प्रवक्ता महादेव पन्थले जानकारी दिए । थपलिया कोभिड १९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसिसी)का प्रमुख पनि हुन् । उनलाई कोरोना भएपछि सिसिएमसिसीकाे बैठक नै बस्न सकेको छैन ।

यसअघि प्रधानमन्त्री निवास बालुवाटारमा पनि कोरोना सङ्क्रमण फैलिएको थियो। जसमा प्रधानमन्त्रीका भान्सेदेखि सचिवालयमा कम गर्ने कर्मचारीहरूमा सङ्क्रमण पुष्टि भएको थियो।

त्यस्तै, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव दिनेशकुमार भट्टराईलाई पनि सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमित सचिवहरू होम आइसोलेसनमा छन् ।

सिंहदरबारमा सङ्क्रमण पुष्टि भएपछि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको टिमले  पिसिआर परीक्षण  गरेको छ । प्रधानमन्त्री कार्यालयका मात्र ४० कर्मचारीलाई कोरोना पुष्टि भएको छ । तर, सिंहदरबारभित्र कति कर्मचारी सङ्क्रमित भए भनेर एकीकृत तथ्याङ्क छैन ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीका अनुसार कोरोना सङ्क्रमण भएका कर्मचारीलाई कोभिड काज बिदा दिने गरिएको छ । यो बिदा बढीमा १४ दिन हुन्छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्