धनुषामा लुटेरा समूहको आक्रमणबाट प्रहरी सहायक निरीक्षक पोखरेल घाइते



जनकपुरधाम । धनुषामा गस्तीमा खटिएको प्रहरी टोलीमाथि लुटेरा समूहले आक्रमण गरेको छ । लुटेरा समूहको आक्रमणमा परी धनुषामा प्रहरीका सहायक निरीक्षक (असई) घाइते भएका छन् । लुटेरा समूहको आक्रमणबाट घाइते भएका असई मनोज पोखरेललाई जनकपुर प्रादेशिक अस्पतालमा उपचारलागि भर्ना गरिएको छ।

उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर लगिएका पोखरेलको टाउकोमा १२ वटा टाँका लगाइएको छ। जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी वसन्त रजौरेका अनुसार धनुषाको बटेश्वर गाउँपालिकास्थित प्रहरी चौकीका असई पोखरेललाई गए राति लुटेरा समूहले आक्रमण गर्दा टाउकोमा गम्भीर चोट लागेको छ।

बटेश्वर गाउँपालिका वडा नम्बर ४ स्थित राम्रो चोकमा गए राति लुटेरालाई नियन्त्रण लिएपछि उनीमाथि आक्रमण भएको थियो।  प्रहरीका अनुसार  भारतबाट फर्केर ससुराली बटेश्वर जाने क्रममा लुटेरा समूहले महोत्तरीको भंगहा नगरपालिका वडा नम्वर ७ का अमित पासमानलाई लुटपाट गरेका थिए । घटनास्थल पुगेर संलग्नहरूलाई पक्राउ गर्न खोज्दा असई पोखरेलमाथि आक्रमण भएको बताइएको छ ।

लुटपाट गर्ने व्यक्तिलाई प्रहरीले प’क्राउ गरेर ल्याउने क्रममा लुटेरा समूहले घेरेर असई पोखरेललाई पछाडिबाट हेल्मेट, लाठीले टाउकोमा प्रहार गरेका थिए । घटनामा संलग्न पाँच जनालाई नियन्त्रणमा लिएको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्