६ वर्षपछि ९९ नेपाली कामदार आज इजरायल उड्दै



काठमाडौँ ।  नेपाली कामदारले ६ वर्षपछि इजरायल रोजगारीको अवसर प्राप्त गरेका छन्। आज (बुधवार) रोजगारीका लागि ९९ जना नेपाली श्रमिक इजरायल जाँदै छन् । वैदेशिक रोजगार विभागका अनुसार आज राती ११ बजे ६३ महिला र ३६ पुरुष गरी ९९ जना इजरायलतर्फ जान लागेका हुन् ।

वैदेशिक रोजगार विभागका निर्देशक डम्बर सुनुवारका अनुसार इजरायल उड्ने तयारीमा रहेका एक सय २५ कामदारमध्ये २६ जनालाई कोरोना सङ्क्रमण देखिएपछि ९९ जना मात्रै इजरायल जान लागेका हुन्।  दोस्रो चरणमा १६२ जना इजरायल उड्ने भएका छन् । माघ १५ र १८ गते कामदार इजरायल उड्ने तय भएको विभागका निर्देशक सुनुवारले जानकारी दिए ।

हालसम्म इजरायल सरकारले नौ सय ९४ नेपाली कामदारसँग रोजगारीको सम्झौता गरेको छ। ती कामदारलाई क्रमशः इजरायल पठाइने विभागले जनाएको छ।

विभागले इजरायल रोजगारीका लागि एक हजार ६ सय जनाको अन्तिम छनोट गरिसकेको छ। जसमा ७० प्रतिशत महिला छन्।  दोस्रो चरणमा १४ र १५ माघमा एक सय ६२ जना इजरायल उड्ने विभागले जनाएको छ।

दोस्रो चरणमा इजरायल जाने कामदारले गत साउन ३१ गतेपछि कोभिडविरुद्धको खोप लगाएको हुनुपर्ने शर्त इजरायल सरकारको छ। यस्ता कामदारले मात्रै हवाई टिकट खरिद र पूर्व अभिमुखीकरण कार्यक्रम लिन सक्नेछन् । इजरायल जाने नेपाली कामदारलाई इजरायलस्थित रोजगारदाताले १४ दिन क्वारेन्टिन राख्नेछ।

इजरायल र नेपाल सरकारबीच २०७२ साल साउनमा केयर गिभरमा नेपाली श्रमिक आपूर्ति गर्ने विषयमा श्रम सम्झौता (एमओयु)  मा हस्तााक्षर भएको थियो ।  पारिश्रमिक र सुरक्षाको दृष्टिले निकै आकर्षक मानिएको इजरायलको रोजगारी सरकारीस्तरमा श्रम सम्झौता (जीटुजी) भएको एक वर्ष नपुग्दै बन्द भएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्