आठ बुँदे मापदण्डकाका आधारमा राष्ट्रिय युवा सङ्घ महाधिवेशन आयोजक कमिटी गठन



काठमाडौं । एमाले भातृ संगठन राष्ट्रिय युवा सङ्घ नेपालले आठ बुँदे मापदण्ड तोकेर महाधिवेशन आयोजक कमिटी गठन गरिएको प्रष्ट पारेको छ । गत पुस २८ देखि ३० गतेसम्म पोखरामा सम्पन्न राष्ट्रिय युवा सङ्घ नेपाल केन्द्रीय सचिवालयको दोस्रो पूर्ण बैठक र २०७८ पुस ३० गते नवौ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको प्रथम पुर्ण बैठकले नवौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी गठन गरेको थियो ।

सो क्रममा १० प्रतिशत मनोनीत र ५ प्रतिशत समायोजन हुन बाँकी नेताहरूलाई समाहित गर्दै आयोजक समिति बनाएको प्रचार विभाग प्रमुख माहाराज गुरुङले बताए ।

केही नेताहरूले असन्तुष्टि जनाएका छन् । सामाजिक सञ्जालमा ती असन्तुष्टि देखिएका छन् । त्यस्तो असन्तुष्टि सुनिएपछि प्रचार विभाग प्रमुख गुरुङले स्पष्ट मापदण्डका आधारमा आयोजक समितिलाई पूर्णता दिइएको स्पष्ट पारे ।

उनले भने, ‘समायोजन र विभिन्न क्लष्टरबाट मापदण्डका आधारमा छानिएको निर्णयलाई तोडमोड गर्दै आयोजक कमिटीमै रहेका र आयोजक कमिटीमै नरहेका केही व्यक्तिहरूले सङ्गठनको स्थापित मूल्य मान्यता, विधि र पद्धतिलाई लत्त्याउँदै सङ्गठनका असल र इमानदार कार्यकर्तालाई भ्रमित पार्ने कोसिस गरिरहेका छन् । यी र यस्ता हर्कतहरु किमार्थ स्वीकार्य र क्षमा योग्य छैनन्, वास्तविकतालाई आत्मसात् गरी सङ्गठनको निर्णयअनुसार सङ्गठनको काममा सक्रिय हुन अनुरोध गर्दछु ।’

सङ्घले पोखराबाट महाधिवेशन आयोजक समितिको संयोजकमा किरण पौडेल र सह संयोजकमा सञ्जीवकुमार झा र क्रान्ति बुर्लाकोटी चयन गरेको छ । यही बैठकबाट उमेर हद नाघेका नेताहरूलाई बिदा दिइएको छ ।

यस्तो छ नवौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटी बनाउँदा अपनाइएको मापदण्ड–

१. पार्टी निर्देशन अनुसार राष्ट्रिय महाधिवेशन आयोजक कमिटी निर्माण गरी महाधिवेशन आयोजक कमिटीको सदस्य,सचिवालय,स्थायी कमिटी, पदाधिकारी र कार्यालय कमिटीको सङ्ख्या घटाइएको ।

२. उमेर हद पार गरेका कमरेडहरूलाई अहिलेसम्म सङ्गठनमा पुराउनु भएको योगदानको उच्च कदर गर्नका लागि पुर्ववत हैसियत सम्मानयोग्य होस् भन्ने कुरा ख्याल गर्दै महाधिवेशन आयोजक कमिटीमा नराखिएको ।

३. पार्टीको भौगोलिक प्रदेश र जिल्ला कमिटी पदाधिकारी र पालिका कमिटीमा अध्यक्ष र सचिवको जिम्मेवारीमा रहनुभएका कमरेडहरूलाई महाधिवेशन आयोजक कमिटीमा नराखिएको ।

४. नेतृत्वले पटकपटक सजग गराउँदा पनि सङ्गठनको जिम्मेवार तहमा बसेर पार्टी र सङ्गठनको मूल नेतृत्व र नीतिको बद्ख्वाई गर्दै हिँड्ने कमरेडहरूलाई महाधिवेशन आयोजक कमिटीमा नराखिएको ।

५. सङ्गठनको उपल्लो तहको जिम्मेवारीमा रहेर पनि सङ्गठनको काममा ६ महिना भन्दा बढी निष्क्रिय रहेका कमरेडहरूलाई विधानको आदेशअनुसार महाधिवेशन आयोजक कमिटीमा नराखिएको ।

६. महाधिवेशन आयोजक कमिटी निर्माण गर्दा समावेशी सिद्धान्तलाई पुर्ण पालना गरिएको । जसअन्तर्गत:

१ र २ निर्वाचन क्षेत्र भएका जिल्ला २ खुल्ला १ महिला, ३ र ४ निर्वाचन क्षेत्र भएका जिल्ला ३ खुल्ला १ महिला, ५ र ६ निर्वाचन क्षेत्र भएका जिल्ला ४ खुल्ला १ महिला, १० निर्वाचन क्षेत्र भएका जिल्लाबाट ५ खुल्ला १ महिला, जनजाति तर्फबाट ६ खुल्ला ४ महिला, मधेसी तर्फबाट ६ खुल्ला ३ महिला, मुस्लिम तर्फबाट ३ खुल्ला १ महिला, उत्पीडित–दलित तर्फबाट २ खुल्ला १ महिला  छन्  ।
त्यस्तै   थारु समुदाय तर्फबाट २ खुल्ला १ महिला, पिछडिएको क्षेत्र तर्फबाट २ खुल्ला १ महिला, अल्पसङ्ख्यक तर्फबाट २ खुल्ला १ महिला, अपाङ्ग ९विशेष क्षेत्र० तर्फबाट १ खुल्ला १ महिला, विशेष योगदान गरेकाहरू मध्येबाट २ खुल्ला १ महिला, खुल्ला तर्फबाट २७ खुल्ला १३ महिला, कार्यालय कमिटी १० खुल्ला ३ महिला छन्  ।

७. नवौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको पहिलो बैठक बाट १०५ मनोनीत ९मनोनीत गर्दा आन्दोलनमा विशेष योगदान गर्नुभएका केन्द्रीय सदस्य कमरेडहरूलाई प्राथमिकतामा राखिएको० र ५५ समायोजन प्रक्रियामा छुट्नुभएका कमरेडहरू लाई समावेश गरिएको ।

८. पार्टी केन्द्रले तोकिदिएको नवौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको सीमित सङ्ख्या भित्र समावेश गर्न छुट्नुभएका कमरेडहरूलाई योग्यता,क्षमता र क्रियाशीलता अनुसार केन्द्रीय आयोगहरू (लेखा, अनुशासन र निर्वाचन), केन्द्रीय विभागहरू,केन्द्रीय युवा परिषद् र प्रदेश तथा विशेष प्रदेश कमिटीमा जिम्मेवारी प्रदान गर्ने ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्