मुख्य समाचार

अनलाइन परीक्षा हुनुपर्ने माग गर्दै बुद्धनगरस्थित कान्तिपुर कलेजमा प्रदर्शन , ११ जना प’क्राउ

By Thaha - Online

January 19, 2022

काठमाडौँ ।  काठमाडौँको बानेश्वरस्थित कान्तिपुर इन्टरनेशनल कलेजमा बुधवार परीक्षा दिन गएका विद्यार्थीहरुले प्रदर्शन गरेका छन्।

कोरोनाभाइरसको सङ्क्रमण तीव्र गतिमा फैलिरहेको र त्यसैबिच स्वास्थ्य सुरक्षाका मापदण्डको पालना नगरी परीक्षा सञ्चालन गरेको भन्दै विद्यार्थीहरू विरोधमा उत्रिएका हुन्।

आन्दोलनमा उत्रिएका ११ जना विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए ।

प्रदर्शनमा एक विद्यार्थी घाइते समेत भएका छन्। उनको टाउकोमा चोट लागेको र अवस्था सामान्य भएको प्रहरीले जनाएको छ। उपचारको लागि उनलाई बानेश्वरस्थित एभेरेष्ट अस्पतालमा लगिएको छ।

एलएलबी चौथो वर्षको परीक्षा दिउँसो १ बजेदेखि सुरु हुनुपर्ने थियो। विद्यार्थीहरू आन्दोलित भएपछि परीक्षा सञ्चालन हुन नसकेको प्रहरीले जनाएको छ।

प्रदर्शनकारीले प्रहरीको गाडीमा हानेपछि दुई पक्षबिच झडप भएको बुझिएको छ ।