माघ ७ देखि सार्वजनिक ठाउँमा हिँड्‌डुल गर्दा खोप कार्ड अनिवार्य



काठमाडौं। कोभिड-१९ विरुद्धको खोप लगाउन बाँकी रहेका व्यक्तिहरूलाई खोप लगाउन उत्प्रेरित गर्नका लागि माघ ७ गतेदेखि सार्वजनिक सेवा प्रवाहमा खोप कार्ड अनिवार्य गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौँले बताएको छ।

काठमाडौं जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले खोप प्राप्त गरिसकेका व्यक्तिहरूको अभिलेख राख्न र खोप लगाउन बाँकी रहेकाहरूलाई खोपका लागि अभिप्रेरित गर्ने उद्देश्यले माघ ७ गतेदेखि सार्वजनिक सेवामा खोप कार्ड अनिवार्य गरिएको बताए। खोप लगाएका व्यक्तिहरू कम जोखिमपूर्ण हुने मान्यता अनुसार खोप कार्डलाई आधारको रूपमा लिइएको पनि उनले बताए। कोभिड-१९ विरुद्धको खोप कार्डलाई अनिवार्य गरिने उनले उल्लेख गरे।

कोभिड-१९ महामारी नियन्त्रणका लागि सार्वजनिक स्थलमा खोप कार्डको अनिवार्यताले महत्त्वपूर्ण भूमिका खेल्ने उनले बताए। नेपाल सरकारले गरेको निर्णय र जिल्ला प्रशासन कार्यालयले जारी गरेको आदेशको पालना नगरेमा सङ्क्रामक रोग ऐन २०२० अनुसार कारबाही हुने पनि उनले बताए। उनले भिडभाडजन्य गतिविधि नगर्न र नगराउन पनि सबैलाई आग्रह गरे। अत्यावश्यक काममा जानु परेमा जनस्वास्थ्यको मापदण्डलाई पूर्ण रूपमा पालना गरेर मात्रै गर्नुपर्ने उनले बताए।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्