म पनि मास्क लगाउँछु ! अरूलाई पनि लगाउन प्रेरित गर्छु



दाङ  ।   पहिले भन्दा कोरोना भाइरसको त्रास केही कम त भयो! तर पुरै निर्मूल भने हुन सकेको छैन । कोरोना भाइरसको सन्त्रास हराउन नपाउँदै ओमिक्रोनको सङ्क्रमणले फेरि जनता अत्तालिएका छन् ।

दुई दुई ओटा खतरनाक भाइरस सँग सामना गर्नुपर्ने बाध्यात्मक प्रस्थिती त छँदै छ! तर पनि दिनानुदिन मास्क प्रयोगमा केही कमी भने देखिएको छ ।

सङ्क्रमण पहिलिन नदिन सजिलो उपाय नै हो मास्कको प्रयोग । तर आफूले मात्र मास्क लगाएर हिँडडुल गर्दा सङ्क्रमण बाट बाँचे भनेर ढुक्क भने हुन सकिँदैन । त्यसको अर्को उपाय हो अरूलाई पनि मास्क प्रयोगमा प्रेरित गरेर शिक्षा बाँड्ने ।

यसै सन्दर्भमा सङ्क्रमण पहिलिन नदिन दाङको लमहीमा “म पनि मास्क लगाउँछु अनि अरूलाई पनि लगाउन प्रेरित गर्छु” भन्ने अभियान नै सुरु गरिएको छ ।

जिल्लामा भाइरसको सङ्क्रमण तीव्र रूपमा बढिरहेको बेला मास्कको प्रयोगमा बेवास्ता गर्दा झन् सङ्क्रमण फैलिन सक्ने भन्दै लमही चेम्बर अफ कमर्सले यस्तो अभियानको सुरुवात गरेको हो । अभियान अन्तरगत वडा प्रहरी कार्यालय लमहीको समन्वयमा लमही बजारका विभिन्न स्थानमा नि:शुल्क मास्क वितरण पनि  गरिएको छ ।  

मास्क नलगाएका हरूलाई मास्क वितरण गर्दै नियमित मास्क लगाउन र अरूलाई पनि लगाउनु पर्ने सुझाव दिन आग्रह गरिएको थियो । पछिल्लो समय मास्कको प्रयोगमा कमी देखिएको र जसले गर्दा सङ्क्रमण बढ्न सक्ने भएकाले यसको रोकथाम तथा नियन्त्रणका लागि जनचेतना मूलक कार्यक्रम थालिएको लमही चेम्बर अफ कमर्सका अध्यक्ष अजय न्यौपानेले बताए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्