प्रदेश २

आगो ताप्ने क्रममा विवाद: ट्रक चालकको कान काटेर दुई युवक फरार

By Thaha - Online

January 21, 2022

विराटनगर ।  मोरङको सुन्दरहरैँचा नगरपालिका–१२ विराट चोकमा बुधवार राती एक जना ट्रक चालकको कान काटेर दुई युवा फरार भएका छन् । 

मोरङ प्रहरीका प्रवक्ता डीएसपी मञ्जील मुकारुङले पहिचान नखुलेका दुई जना युवाले प्रदेश १–००१ ख ८१८९ नम्बरको ट्रकका चालक मोरङको उर्लाबारी नगरपालिका–७ का ५२ वर्षीय वोधविक्रम मुखियाको देव्रे कान काटिदिएको बताउनु भयो ।  

उनका अनुसार मुखिया सिमेन्ट लोड गरिएको ट्रक लिएर मोरङको बूढीगंगाबाट रंगेलीतर्फ जाँदै थिए ।विराट चोकमा पुगेपछि राती ११स्२५ बजेतिर ट्रक पार्किङ गरेर उनी खाना खान नजिकैको पोखरेल होटलमा छिरेको प्रहरीले जनाएको छ । खाना खाइसकेपछि होटलअगाडि बालेको आगो तापिरहेका बेला आइपुगेका दुईजना युवाले धारिलो हतियारले देव्रे कान काटेर छिनाइदिएको डीएसपी मुकारुङले जानकारी दिनु भयो ।

उनका अनुसार अवस्था गम्भीर रहेका ट्रक चालकलाई उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पतालमा भर्ना गरिएको छ । घटनामा संलग्नको पहिचान खुल्न नसकेको र फरार रहेका कारण खोजी तीव्र पारिएको मुकारुङले जानकारी दिनु भयो ।