अमेरिकामा यात्रुले मास्क लगाउन अस्वीकार गरेपछि मध्यआकाशबाटै फर्कियो विमान



एजेन्सी । लन्डन उडेको अमेरिकी एयरलाइन्सको एउटा विमान मध्य आकाशबाटै फर्किएको छ ।  विमानभित्र एक यात्रुले मास्क लगाउन अस्वीकार गरेपछि विमान मध्य आकाशबाटै फर्किएको छ । मास्क लगाउन नमानेपछि अमेरिकन एयरलाईनको उडान ३८ को बोइङ ७७७ मध्य आकाशबाट फर्किएको थियो । विमानमा १२९ यात्रु थिए । 

उडान रद्द गरेर एयरलाइन्स कम्पनीले यात्रुहरूलाई अर्को टिकट नकाटुन्जेल होटलमा राखेको जनाइएको छ । विमान मायामीमा अवतरण गरेपछि एयरलाइनले प्रहरीलाई खबर गरेको थियो । प्रहरी अधिकारीहरूले मास्क नलगाउने महिला यात्रीलाई मायामी अन्तर्राष्ट्रिय विमानस्थलबाट लगेका थिए ।

अनुसन्धान चलुन्जेल ती महिलालाई एयरलाइनको नो फ्लाई लिस्टमा राखिएको छ । ती महिलाले स्थानीय कानुन नतोडेकाले पक्राउ गरिएको थिएन । गत सेप्टेम्बर महिनामा अमेरिकाका राष्ट्रपति जो बाइडनले विमानमा मास्क लगाउन नमान्ने व्यक्तिहरूलाई ५०० डलरसम्मको जरिवाना सजायको व्यवस्था गरेका थिए । 

उक्त उडान आकाशमा ९० मिनेटसम्म रहेको बेलामा उडान रद्द गरिएको थियो । धेरै यात्रुहरू मायामीमै रात बिताएर बिहीबारको फ्लाइटमा लन्डन गएका थिए ।

अमेरिकन एयरलाइन्सले ती यात्रुलाई आगामी दिनमा आफ्ना कुनै पनि उडानमा सेवा नदिने जनाएको छ । अमेरिकामा आन्तरिक उडानका क्रममा कोभिड नियम पालना अस्वीकार गर्ने विरुद्ध शून्य सहनशीलता अपनाउने सङ्घीय उड्डयन प्रशासनले बताउँदै आएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्