उपचारपछि माओवादी नेता पुन सोमबार नेपाल फर्कँदै



काठमाडौँ । उपचारका लागि बैंकक हुँदै चीन पुगेका माओवादी केन्द्रका नेता वर्षमान पुन स्वदेश फर्कने भएका छन् । करिब ४ महिना लामो उपचारपछि नेता पुन माघ १० गते स्वदेश फर्कन लागेका हुन् ।

गत असोजमा उपचारका लागि थाइल्यान्ड गएका उनी थप उपचारका लागि उतैबाट चीन गएका थिए। १३ असोजमा उपचारका लागि थाइल्याण्डको बैंकक गएका पुन स्वास्थ्यमा अपेक्षित सुधार नभएपछि थप उपचारका लागि चीन पुगेका थिए । १० मङ्सिर यता चीनको सेनजेनस्थित थर्ड पिपुल्स हस्पिटल अफ सेनजेनमा उपचाररत थिए ।

‘बैंकक र चीनको लामो उपचारपछि माघ १० गते पूर्ण स्वास्थ्य लाभ गरेर नेपाल फर्किँदै छु’ नेपाल फर्कन लागेको नेता पुनले सामाजिक सञ्जालमा लेखेका छन् ।

उनी पूर्ण रूपमा स्वस्थे भइसकेकाले स्वदेश फर्किन लागेको स्वकीय सचिव पुनले बताए। नेता पुनलाई सताएको विश्वमै विरलै देखिने जण्डिस (बिलरुविन)बाट पीडित छन् । काठमाडौँबाट बैंकक लैजाँदा पुनको जण्डिस (बिलरुविन) को तह बढेर १८  पुगेको थियो। 

नेपालमा हुँदा ललितपुरस्थित सुमेरू अस्पताल र यस अघि ग्राण्डी अस्पतालमा परीक्षण गराएका नेता पुन चिकित्सकहरूको परामर्श र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँगको सल्लाहमा बैंकक गएका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्