अमेरिकी राष्ट्रपति ट्रम्प उत्तर कोरियाली नेता किमसँग भेट्न तयार



लामाे दुश्मनी साँधेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अन्तत उत्तर कोरियाली नेता किम जोङ उनसँग भेट्न सहमत भएका छन्।

उत्तर कोरियाका नेता किम जोङ–उनले दक्षिण काेरियाली नेताहरूमार्फत अमेरिकी राट्रपति डोनाल्ड ट्रम्पलाई भेट्न तयार रहेकाे सन्देश पठाएपछि अमेरिकी राष्ट्रपति ट्रम्पले साे प्रस्तावलार्इ स्वीकार गरेको खबर बीबीसीले जनाएको छ।

अमेरिकाको राजधानी वासिङ्नट डिसी पुगेका दक्षिण कोरियाका एक उच्च अधिकारीले यसबारे जानकारी दिएका हुन्।

उनी उत्तर कोरियाको निम्तो पत्र लिएर अमेरिका गएकाे बताइएकाे छ ।

केही समय अघिसम्म ती दुई नेताहरु सार्वजनिक रुपमा व्यक्तिगत आरोप प्रत्यारोपमा उत्रिएका थिए।

किमले सत्ता सम्हालेदेखि पहिलो पटक उत्तर कोरिया पुगेको दक्षिण कोरियाली टोलीलाई किमले डिनर नै गराएका थिए ।

बीबीसीका अनुसार किमले आफू निकै उत्साहित रहेको र सम्बन्ध सुधार गरेर एकीकरणको नयाँ इतिहास लेख्न चाहेको पनि बताए ।

त्यही क्रममा ट्रम्पलाई वार्ताको निम्तो उत्तर कोरियाले दक्षिण कोरियाली प्रतिनिधिको हातमा थमाएको हो ।

दक्षिण कोरियाली अधिकारीका अनुसार किमले पारमाणविक र क्षेप्यास्त्र परीक्षणहरु स्थगन गर्न सहमति जनाएका छन् र पारमावणिक नि:शस्त्रीकरणका लागि प्रतिबद्धता पनि जनाएकाे पनि बताइएकाे छ ।

पछिल्लो घटनाक्रम महिनौ यताका चेतावनी र हिंसापछिको एउटा महत्वपूर्ण प्रगति मानिएकाे छ ।

उत्तर कोरियाका नेता किम परामाणु कार्यक्रम तथा मिसाइल परीक्षण रोक्न तयार रहेको तर त्यसका लागि सुरक्षाको प्रत्याभुति भने हुनु पर्ने बताएको दक्षिण कोरियाले उल्लेख गरेको छ ।

सन् २०१८ लागेदेखि उत्तर र दक्षिण कोरियाबिचको सम्बन्धमा सुधार आएको छ।

विन्टर ओलम्पिकलाई लिएर न्यानो बन्न थालेको सम्बन्धले अहिले दुई देशका शीर्ष नेताको भेट गर्ने सहमतिसम्म लगेको छ ।

दक्षिण कोरियाली प्रतिनिधिमण्डलले अघिल्लो साता प्योङयाङमा उत्तर कोरियाली नेतासँग अभूतपूर्व प्रकृतिको वार्ता गरेको थियो।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्