काठमाडौं । प्रमुख विपक्षी नेकपा एमालेले कोरोना महामारीको तेस्रो लहरमा सरकार गैर जिम्मेवार र निष्प्रभावी देखिएको आ’रोप लगाएको छ ।
आज (आइतबार) एमाले अध्यक्ष केपी शर्मा ओलीले विज्ञप्ति जारी गर्दै नयाँ लहरले जनजीवन आक्रान्त बन्दासमेत वर्तमान सरकार गैर जिम्मेवार बनेको आरोप लगाएका हुन् ।
उनले विज्ञप्तीमा भनेका छन्,‘ २४ लाखभन्दा बढी मात्रा खोप हराएको चरम गैरजिम्मेवार र लज्जास्पद अभिव्यक्ति सरकारी अधिकारीहरूले नै दिइरहेका छन् । कहाँ गयो त्यति धेरै मात्राको खोप ? कसले लुकायो वा बेच्यो? यसका लागि को जिम्मेवार छ? एकातिर यति ठूलो मात्रामा खोप गायब पारिएको छ भने अर्कातिर भण्डारमा भएको खोपको सही वितरण हुन नसक्दा हजारौं नागरिकहरू खोपबाट बञ्चित छन् ।’
सरकारको ६ महिने कार्यकालको समीक्षा गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले १५ बुँदे विज्ञप्ति जारी गरेका छन् । उक्त विज्ञप्तिको ८ औं नम्बरमा ओलीले लेखेका छन्, ‘ यो सरकार महामारीको नयाँ लहरमा गैर जिम्मेवार र निष्प्रभावी देखिएको छ । २४ लाखभन्दा बढी मात्रा खोप हराएको चरम गैर जिम्मेवार र लज्जास्पद अभिव्यक्ति सरकारी अधिकारीहरूले नै दिइरहेका छन् ।’
अध्यक्ष ओलीले अहिले पनि हजारौँ नागरिक खोपबाट वञ्चित रहेको भन्दै खोप लगाउन आवश्यक सिरिन्ज र अत्यन्त आधारभूत मानिएको औषधि सिटामोल समेत उपलब्ध गराउन नसक्नुले सरकार गैर जिम्मेवार रहेको प्रष्ट भएको बताएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।