पत्रकार एलबी विश्वकर्माको मृत्युबारे काउन्सिलद्वारा टिभी टुडेमा अनुगमन



काठमाडौँ । पत्रकार एलबी विश्वकर्माको निधनका विषयमा प्रेस काउन्सिल नेपालले आइतबार टिभी टुडे एचडीको कार्यालयमा अनुगमन गरेको छ ।

काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेत, सदस्यद्वय ठाकुरप्रसाद बेलबासे र दीपक पाण्डे, निमित्त मुख्य अधिकृत दीपक खनाल, अधिकृत गीता पराजुली र अनुगमनकर्ता विपुल पाण्डेसहितको टोलीले टिभी टुडेको पेप्सीकोलास्थित कार्यालयमा पुगी तबल, सुविधाका विषयमा अनुगमन गरेको हो ।

काउन्सिलका प्रवक्ता दीपक खनालद्वारा जारी विज्ञप्तिमा काउन्सिलले सिभिल अस्पतालमा सहज उपचार नपाएर पत्रकार विश्वकर्माको निधन भएको भन्ने विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । ‘श्रमजीवी पत्रकार अस्पतालमा प्रवेश गरिसकेपछि उपचार नपाएर ज्यान गुमाउनपर्नु राज्यकै लज्जाको विषय हो’

घटनाका विषयमा प्रेस काउन्सिल नेपालअन्तर्गतको श्रमजीवी पत्रकार हित तथा कानुन उपसमितिको बैठक आइतबार नै बसेको थियो । उपसमितिका संयोजक ठाकुरप्रसाद बेलबासेको अध्यक्षतामा बसेको बैठकले श्रमजीवी पत्रकारले आर्थिक अभावमा मृत्युवरण गर्नपर्नु निन्दनीय विषय भएको औँल्याउँदै सत्य तथ्य सार्वजनिक गर्न माग गरेको छ । काउन्सिलले श्रमजीवी पत्रकारलाई उपचारको विशेष व्यवस्था गर्न सरकारलाई आग्रह गर्ने निर्णय गरेको विज्ञप्तिमा जनाइएको छ ।

पत्रकार विश्वकर्माको यही माघ ०६ गते बिहान  निधन भएको थियो । उपचारको क्रममा थोरै रकम अपुग भएका कारण सिभिल अस्पतालमा भर्ना नलिइएकोले ललितपुरस्थित पाटन अस्पतालमा पुर्‍याएपछि विकको निधन भएको समाचार प्रसारण भइरहेका छन् । उनको मृत्युपछि अस्पताल व्यवस्थापनको चर्को आलोचना हुँदै आएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्