बैदेशिक रोजगार

भोलिदेखि भिसामा खाडी मुलुक जान रोक , कुन-कुन देश जान पाइँदैन ?

By Thah Online

January 23, 2022

काठमाडौँ । रोजगारको प्रलोभनमा भिजिट भिसामार्फत विशेष गरी युएई सहित खाडी तथा मलेसिया पुगेर नेपालीहरू अलपत्र पर्ने गरेका छन् । यसरी विदेश जाँदा एयरपोर्टका कर्मचारीहरूको सेटिङ चल्ने कुरा निरन्तर आइरहेकै बेला कोरोना महामारीको कारण देखाई नेपाल सरकारले सोमबारदेखि भिजिट भिसामा जान रोक लगाउँदै छ । 

मन्त्रालयले शुक्रवार एक विज्ञप्ति जारी गर्दै बढ्दो कोरोना सङ्क्रमणका कारण खाडी मुलुक र मलेसिया गई बिचल्लीमा पर्ने नेपालीको सङ्ख्या बढेको भन्दै त्यसतर्फ जान रोक लगाउने निर्णय गरेको हो।

जारी विज्ञप्तिमा भनिएको छ, ‘कोभिड–१९’को ओमिक्रोण भेरियन्टको सङ्क्रमण स्वदेश तथा विदेशमा तीव्र रूपमा फैलिँदै गइरहेको हुँदा विभिन्न उद्देश्यले खाडी राष्ट्रहरू र मलेसियामा गई बिचल्लीमा पर्ने गरेका गुनासा, समाचार र सूचनाहरू प्राप्त भएकोले मिति २०७८ माघ १० गतेदेखि लागू हुने गरी अर्को आदेश जारी नभएसम्मको लागि त्यस्ता राष्ट्रहरूको भिजिट भिसामा भ्रमण जान रोक लगाइएको ब्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ ।’

गृह मन्त्रालयका अधिकारीहरूले भने भिजिट भिसामा काम गर्न जाने प्रवृत्ति रोक्न यस्तो निर्णय गरेको जनाएका छन् । भिजिट भिसामा गएर अलपत्र परेको तथा उद्धार गरिदिन भन्दै सरकारलाई गुहार गर्नेहरूको सङ्ख्या बढेको अवस्थामा सरकारले भिजिट भिसा बन्द गराउनु परेको बाध्यता बताएको छ । 

वैदेशिक रोजगारको प्रलोभनमा विदेश जाने क्रममा सबैभन्दा बढी युएई गएर अलपत्र पर्नेहरू धेरै छन् । यस गिरोहमा केही मेनपावरहरुनै संलग्न रहेको जानकारी प्राप्त भएको छ । अध्यागमन विभागले दिएको तथ्यांकअनुसार भिजिट भिसामा गएकाहरू मध्ये कयौँ नेपालीहरू समयमै नेपाल फिर्ता भएका छैनन् । उनीहरू भिजिटमा गई उतै बसेको अध्यागमनको अनुमान छ । त्यसो त एजेन्टहरुले विदेश ल्याई अलपत्र पारेको भन्दै धेरै युवाहरुले हार गुहार गरेको समाचारहरूले पनि नेपालीहरू घुम्न वा व्यवसायकै सिलसिलामा मात्र भिजिटमा जान्छन् भन्ने छैन । 

सरकारको निर्णयअनुसार मलेसिया, खाडीका इराक, साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, ओमान, कुवेत, कतार र बहराइन तथा खाडीनजिकका एसियाली राष्ट्र साइप्रस, इजिप्ट, इरान, इजरायल, जोर्डन, लेबनान, प्यालेस्टाइन, सिरिया, टर्की, यमनमा अब भिजिट भिसामा नेपाली जान पाउने छैनन् ।