एजेन्सी । भनिन्छ, कसैको मायामा डुबेको मान्छेले जे पनि गर्न सक्छ । यसको पछिल्लो उदाहरण मेक्सिकोबाट आएको छ । त्यहाँ एक प्रेमीले आफ्नी प्रेमिकाकी आमाको ज्यान बचाउन मिर्गौला दान गरेका छन् । त्यसपछि बदलामा उनले आफ्नी प्रेमिकाबाट जीवनभरको साथ र माया पाउनुपर्ने हो । तर त्यसो भएन ।
प्रेमीले प्रेमिकाकी आमालाई मिर्गौला दान गरे । तर प्रेमिकाले भने त्यसको एक महिना नबित्दै धोका दिएकी छिन् । धोका यहाँसम्म कि ती युवतीले आफ्नी आमालाई मिर्गौलासमेत दिएर बचाएका प्रेमीलाई छोडेर अर्कै युवकसँग विवाह गरिन् ।
घटना मेक्सिकाेको हो । ती प्रेमी (युवक) मेक्सिकोको एक विद्यालयको शिक्षकसमेत रहेको बताइएको छ । उनले उक्त रहस्य सामाजिक सञ्जाल टिकटकबाट खुलासा गरेका छन् । उनले भोगेको यो घटनाबारे बेलायती पत्रिका द सनले पनि स्टाेरी छापेको छ ।
युवकको नाम उजील मार्टिज रहेको द सनले उल्लेख गरेको छ । उजिलले प्रेमिकाको नाम उल्लेख नगरी सामाजिक सञ्जालमा भनेका छन्, ‘मैले उनको आमालाई मिर्गौला दान गरेँ, उनले मलाई छोडिन् । र, एक महिनापछि विवाह गरिन्।’
उनले सोफामा सुतिरहेको बेला निराश हुँदै आफूलाई भिडियोमा कैद गरेका छन् । उनले टिकटकमा राखेको उक्त भिडियो १६.६ मिलियन पटक हेरिएको छ । कमेन्टमा उनलाई सहानुभूति प्रकट गर्नेहरूको लहर नै चलेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।