दाङ । लमही नगरपालिका वडा नम्बर ४ निवासी श्रबन चौधरीको खुट्टाले काम गर्दैन ।
केही पाइला सार्न पनि उनलाई गाह्रो पर्छ । सरकारले दिने अशक्त अपाङ्गता भत्ता त पाउँछन् । तर त्यत्तिले मात्र आफ्नो सबै आबस्यक्ता पुर्ती गर्न उनलाई हम्मे हम्मे पर्छ । यो चिसोमा न्यानो कपडा खरिद गर्न मन त छ उनलाई । तर पर्याप्त पैसा भने छैन ।
यस्तै यस्तै पिडाले थलिएका अपाङ्गता भएका व्यक्ति र ज्येष्ठ नागरिकहरूलाई लमही नगरपालिका वडा नम्बर ४ ले सोमबार वडा कार्यालयमा निम्त्यायो ।
त्यहाँ पुग्दा श्रबनलाई न्यानो ब्ल्याङ्केटले सम्मान गरियो । समय सापक्ष ब्ल्याङ्केट पाउँदा उनी खुसी भए । यो जाडोमा ओढ्ने कपडा चाहिएको थियो, आफै किन्दा खर्च बढ्थ्यो तर वडाले निःशुल्क दियो श्रबनले भने ।
उनी जस्तै श्याम कुमारी पौडेल पनि समस्यामा थिइन । जाडोमा हातखुट्टा दुख्ने समस्या छ उनलाई । अब भने न्यानो ब्ल्याङ्केट ओढ्दा केही समस्या हल हुने र आराम मिल्ने भन्दै पौडेलले खुसी व्यक्त गरिन ।
चौधरी र पौडेललाई मात्र होइन, वडा कार्यालयले वडा अन्तरगतका २ सय ८ जना ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरूलाई न्यानो कपडाले सम्मान गरेको छ । वडाले ७ लाख रूपैया बजेट छुट्याएर सम्मान कार्यक्रमको आयोजना गरेको हो ।
कठ्याङ्ग्रिँदो यो चिसोमा न्यानो ब्ल्याङ्केट आबस्यक पर्ने भन्दै सम्मान स्वरूप ब्ल्याङ्केट बितरण गरिएको वडाध्यक्ष सुवास न्यौपानेले बताए ।
“आफै खरिद गर्ने सबैसँग पैसा हुँदैन, त्यस्ता आमाबुवालाई जाडो छलाउन त पर्यो वडाध्यक्ष न्यौपानेले भने-त्यसैले हामीले ब्ल्याङ्केट दिने निर्णय गरेका हौँ ।”
वडाध्यक्ष सुवास न्यौपानेको अध्यक्षता तथा लमही नगरप्रमुख कुलबहादुर केसीको प्रमुख आतिथ्य एवम् नगर उपप्रमुख देवका बेलबासेको विशिष्ट आतिथ्यमा कार्यक्रम भएको हो । कार्यक्रममा नगरप्रमुख केसीले ज्येष्ठ नागरिकको कोखबाट नै आफूहरू जन्मिएको स्मरण गर्दै उहाँहरूलाई सधैँ सम्मान गर्नुपर्ने धारणा राखे । अपहेलनाको सिकार बनिरहेका बृद्दबृद्दा, अपाङ्गता भएका व्यक्तिहरूलाई गरिएको यो सम्मानले समाज परिवर्तन उन्मुख रहेको सन्देश दिने बताए ।
कार्यक्रमको सञ्चालन सनम नेपालीले गरेका थिए । यो भन्दा अगाडि लमही नगरपालिका मार्फत नगरका ५,७ र ८ नम्बर वडामा सम्मान कार्यक्रम गरिसकिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।