संविधान कार्यान्वयनमा आफूले विशेष भूमिका खेल्ने



सैघाली खबर,काठमाडौं, २५ फागुन । – प्रतिनिधिसभाको सभामुखमा निर्विरोध निर्वाचित माओवादीका नेता कृष्णबहादुर महाराले संविधान कार्यान्वयनमा आफूले विशेष भूमिका खेल्ने बताउनु भएको छ ।

सभामुखका लागि संसद भवन नयाँ बानेश्वरमा उम्मेदवारी दर्ता गरेपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै महराले संविधान कार्यान्वयन र नयाँ कानुन निर्माणका लागि भूमिका खेल्ने बताउनु भएको हो ।

‘अब संविधान कार्यान्वयनको मुख्य जिम्मेवारी आएको छ’ महराले भन्नुभयो ‘फरक र विशेष जिम्मेवारीमा रहेर संविधान कार्यान्वयन र नयाँ कानुन निर्माणमा लाग्नेछु ।’

यसअघि विभिन्न सरकारमा सञ्चारमन्त्री, अर्थमन्त्री, गृहमन्त्री र पछिल्लो समयमा परराष्ट्रमन्त्री समेत भइसक्नु भएका महरा पहिलो पटक सभामुख बन्नुभएको हो ।

महरालाई सभामुखका लागि एमाले नेता तथा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले प्रस्ताव गर्नुभएको हो भने माओवादीकै देव गुरुङले समर्थन गर्नुभएको छ । सभामुखमा महराको उम्मेदवारी दर्ता गर्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ समेत नयाँ बानेश्वर पुग्नुभएको थियो । महरा सभामुख भएको औपचारीक घोषणा शनिबार मात्रै हुनेछ ।

यसअघि बुधबार दोश्रो कार्यकालका लागि राष्ट्रपति विद्यादेवी भण्डारीको उम्मेदवारी दर्ताका लागि एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पनि आफै संसद भवन पुग्नुभएको थियो ।

एमाले अध्यक्ष ओलीले नेम्वाङलाई सभामुख बनाउन चाहेपनि माओवादी केन्द्रको अडानका कारण महरा सभामुख बन्नु भएको हो ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्