जनमतका पार्टीका कार्यकर्तालाई कारबाही गर्न मधेस सरकारको निर्देशन



जनकपुरधाम । मधेस प्रदेश सरकारले जनकपुरधाममा राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि मतदानमा सहभागी हुन आएका प्रतिनिधिको सवारीसाधनमा तोडफोड गर्ने जनमत पार्टीका कार्यकर्तामाथि कारबाहीको निर्देशन दिएको छ ।

मधेस प्रदेश सरकारका प्रवक्तासमेत रहेका अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले विज्ञप्ति जारी गर्दै तोडफोड र सांघातिक आक्रमण घटनाको वास्तविक छानबिन गरी सम्बन्धितलाई क्षतिपूर्ति उपलब्ध गराउन एवम् दोषी उपर कारबाही गर्न प्रदेश सरकार तालुक निकायलाई निर्देशित दिएका हुन् ।

पूर्वघोषित विरोधका कार्यक्रम नरहेको अवस्थामा पनि प्रदेशसभा सदस्य अशोक यादव, हरिवन नगरपालिका मेयर, उपमेयर, जलेश्वर अस्पतालका मेसु डा सतिश साह लगायतका व्यक्तिमाथि मंगलबार आक्रमण भएको प्रदेश सरकारले जनाएको छ ।

‘घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै लोकतान्त्रिक मूल्य र मान्यतामा विश्वास राखी अहिंसात्मक तवरबाट आफ्नो विचार एवम् अभिमत प्रकट गर्न जनमत पार्टीलगायत सम्बद्ध सबैमा प्रदेश सरकार आग्रह गर्दछ,’ अर्थमन्त्री साहद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्