बैदेशिक रोजगार

भिजिट भिषाबाट उत्पन्न समस्याबारे अध्ययन गर्न ‘मार्सल टिम’ गठन

By Thah Online

January 27, 2022

काठमाडौं । रोजगारीको आश्वासनमा ‘भिजिट भिसा’ मार्फत दुबईलगायत श्रम गन्तव्य मुलुकमा पुगेर पीडित भएकालाई सम्बोधन गर्न ‘मार्सल टिम’ गठन भएको छ ।

नेपाली श्रमिकले यूएई लगायतको खाडीको देशमा कामका लागि भिजिट भिसामार्फत गएर समस्या भोगिरहेको सन्दर्भमा बुधबार गृह मन्त्रालयले गृह प्रवक्ता तथा सहसचिव फणीन्द्रमणि पोखरेलको अध्यक्षतामा समिति गठन गरेको हो ।

समितिमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, परराष्ट्र मन्त्रालय, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, प्रहरी, अध्यागमन विभाग तथा वैदेशिक रोजगार बोर्डका प्रतिनिधि रहेका छन् ।

समितिले भिजिट भिसा उपलब्ध गराउने मापदण्ड बनाउन, विमानस्थलमा आवागमन सहरीकरण, अध्यागमन प्रणाली सुधार, अन्तर्राष्ट्रिय उडान तालिका, श्रमिकहरूले विदेशमा रहँदा भोगेका समस्या समाधान गर्ने लगायतका विषयमा सुझाव सहितको प्रतिवेदन पेस गर्नेछ । त्यसका लागि १५ दिनको समय तोकिएको छ ।।

यसअघि मंगलबार गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा श्रम गन्तव्य मुलुकहरूमा समस्यामा परेका श्रमिकहरू, भिजिट भिसामा गई यात्रु अलपत्र पर्ने, अध्यागमन प्रणाली सुधार, अन्तर्राष्ट्रिय विमानस्थलको संरचनात्मक सुधार तथा व्यवस्थापनलगायत विषयमा सरोकारवालाहरूसँग बैठक बसेको थियो।