मानव तस्करलाई सघाएको आ’रोपमा अध्यागमनका ९ अधिकृतलाई मन्त्रालय तानियो (सूचीसहित)



काठमाडौं  । गृह मन्त्रालयले पर्यटक प्रवेशाज्ञा (भिजिट भिसा)मा मलेसिया र खाडी मुलुक जाने यात्रुहरूलाई सेटिङ गरेको अभियोगमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा कार्यरत ९ जना अधिकृतलाई फिर्ता बोलाएको छ ।

गृह मन्त्रालयले बिहीबारको पत्रबाट ती ९ जना अध्यागमन अधिकृतलाई फिर्ता गर्ने निर्णय गरेको हो । उनीहरूले मानव तस्करलाई सहयोग गरेको स्रोतले बताएको छ । गृह मन्त्रालयले गोप्य सूचनाका आधारमा उनीहरूलाई विमानस्थल अध्यागमन कार्यालयबाट हटाएको हो ।

गृह मन्त्रालय उच्च स्रोतका अनुसार त्रिअबी अध्यागमन कार्यालयबाट फिर्ता हुने अधिकृतहरूमा पुष्पराज शर्मा, अच्युत केसी, नयन्द्र कुमार पौडेल, रामप्रसाद ओली, अबिलास राई, दिपककुमार आचार्य, हेमराज जोशी, मौसम ढुंगेल र यम बहादुर भट्टराई छन् ।

मानव तस्करसँगको मिलेमतोमा सर्वसाधारणलाई भिजिट भिसामा मलेसिया र खाडी मुलुक पठाउन अध्यागमनमा सेटिङ मिलाउने गरेको उनीहरूमाथि आ’रोप छ । आ’रोपित कर्मचारीहरूले म्यानपावर व्यवसायी र सम्बन्धित एयरलाइन्सको सेटिङमा काम गरेका थिए । फिर्ता गर्ने निर्णयसँगै गृह मन्त्रालयले उनीहरूमाथि अनुसन्धान सुरु गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत उनीहरूको गतिविधिमाथि निगरानी गरिरहेको स्रोतले बताएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सेटिङ भएको गुनासो आएपछि केही दिनअघि अध्यागमन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईले स्थलगत अनुगमनसमेत गरेका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्