भारतले निर्माण गर्ने सडकमा ह्युमपाइप , कल्भर्ट बनाउने सहमति



नवलपरासी, १५ माघ । भारतले नवलपरासीको सीमामा बनाइरहेको समानान्तर सडकले पानीको प्राकृतिक बहाव थुनिन गई नेपाली भूभाग डुबानमा पर्ने र कृषि उत्पादनमा ठुलो क्षति नेपालीले व्याहाेर्नुपर्ने समस्या देखा परेको प्रति स्थानीय प्रशासनले संवाद सुरु गरेको छ ।

नवलपरासी पश्चिमका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले भारतीय समकक्षी अधिकारी अर्थात् उत्तर प्रदेश महराजगञ्ज जिल्लाका जिल्लाधिकारीसित (डिएम)  निरन्तरमा संवादमा रहेको बताएका छन् ।

सीमाको दशगजादेखि १० देखि २० मिटर मात्र को दूरी राखेर भारतले बनाइरहेको ३० मिटर चौडाइको सडकले पानीको प्राकृतिक बहाव थुनिने सङ्कट उत्पन्न हुने कारण देखाउँदै स्थानीय जनताले विरोध गर्न थालेपछि स्थानीय प्रशासनले स्थलगत निरीक्षण समेत गरेर द्विपक्षीय छलफल गरिएको बत्ताएको छ ।
भारतीय सडक विभागका अधिकारी र नवलपरासीका प्रमुख जिल्ला अधिकारी मिश्र सहितको संयुक्त निगरानी गरिएर पानीको निकास बनाउनु पर्ने सहमति भएको छ । यसका लागि सडकमा हरेक ५०० मिटर मा कल्भर्ट बनाउने, आवश्यक रहेको स्थानमा ह्युम पाइप जडान गर्नुपर्ने र पानीको अधिक मात्राको बहाव रहेको स्थानमा पुल बनाउने कार्य एक हप्तामा सुरु गरिने सहमति भएको प्रमुख जिल्ला अधिकारी मिश्रले बताए ।

उनले भारतीय अधिकारीहरूसंगकाे भेटमा नेपाली किसानले उठाएको समस्या जायज रहेकोले पानीको बहाव रोकिनु हुन्न भन्ने आफूले माग राखेको र भारतीय अधिकारीहरूले यसको समाधान गरिने बत्ताएको जानकारी गराएका छन् । प्रमुख जिल्ला अधिकारी मिश्र ले यसका साथै नेपालको ताल्लुक मन्त्रालयमा समेत यसको जानकारी गराएको बताए ।

प्रमुख जिल्ला अधिकारी मिश्र ले भने, यसको पूर्ण समाधान स्थानीय स्तरबाट खोजिनुको साथै नेपाल सरकारले कूटनीतिक पहल गरी समाधान सहज हुने विश्वास व्यक्त गरे ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्