बालकुमारी मन्दिरको मूर्ति चोरी प्रकरण: सूचना दिनेलाई ५ लाख पुरस्कार दिने घोषणा



काठमाडौं । गत माघ ८ गते ललितपुरको सुन कोठीबाट चोरी भएको बालकुमारी मन्दिरको मूर्तिबारे सूचना दिनेलाई ५ लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरिएको छ । गुठीले सूचना जारी गर्दै हराएको मूर्तिबारे सूचना दिनेलाई पाँच लाख रुपैयाँ कम नहुने गरी पुरस्कार दिने घोषणा गरेको हो ।

पित्तलबाट बनाइएको दुई फिट अग्लो र डेढ फिट चौडाइको पुरानो मूर्ति ८ माघमा चोरी भएको थियो । मन्दिरका पुजारीहरूले बिहान चार बजे नित्य पूजा गर्न जाँदा मूर्ति नदेखेपछि स्थानीय जनप्रतिनिधिहरूलाई खबर गरेका थिए, त्यसपछि प्रहरीलाई जानकारी गराइएको थियो ।

‘सूचना उपलब्ध गराउने व्यक्ति वा संस्थाको परिचय गोप्य राखिने’ गुठीले जारी गरेको विज्ञप्तिमा भनिएको छ । मूर्तिबारे कुनै सूचना भए मोबाइल नम्बर ९८८१२१७७८६ मा सम्पर्क पनि गुठीले आग्रह गरेको छ । 

स्थानीयका अनुसार मन्दिरभित्र प्रवेश गर्न चार वटा गेट क्रस गर्नुपर्छ, त्यहाँ नौ वटा ताला लगाइएका हुन्थे । ती सबै ताला फोडेर मूर्ति चोरी भएको थियो । ललितपुर प्रहरी प्रमुख एसएसपी यज्ञ विनोद पोखरेल चाहिँ मूर्ति चोरी गर्नेको खोजी भइरहेको बताउँछन् ।

प्रहरी घटनाको अनुसन्धानका लागि प्रहरी नायब उपरीक्षक दीपक भारतीको नेतृत्वमा पाँच सदस्यीय अनुसन्धान टोली नै बनाएर मूर्तिको खोजी गरिरहेको छ । प्राविधिक जाँचबुझमा पोक्त अधिकृतहरूसहितको टोली गठन गरेर मूर्तिको खोजी भइरहेको पोखरेल बताउँछन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्