बर्दियाका पूर्वकमलरी विभिन्न पेसा–व्यवसायमा संलग्न भएर आत्मसम्मानको जीवन बाँचिरहेका छन् ।
सैघाली खबर
बर्दिया , २६ फागनु । बारबर्दिया गाउँपालिका–१० की पूर्वकमलरी कृष्णी थारूले सीपमूलक तालिम लिएपछि गाउँमै चिया–खाजा पसल सञ्चालन गरिन् । अहिले उक्त पसलबाट दैनिक २ हजार रुपैयाँसम्म आम्दानी हुन थालेपछि उनको जीवनस्तरमा ठूलो परिवर्तन आएको छ ।
तीन वर्ष कोहलपुरस्थित एक साहूको घरमा कमलरी बसिन्, ढोढरी–९ खाताकी २२ वर्षीया सन्तोषी थारू । उद्धार भएपछि घर त फर्किइन् तर खुसीसँगै अब जिन्दगी कसरी चलाउने भन्ने चिन्ता थियो ।
परिवारले सन्तोषीको विवाह गराए । ६ वर्ष नपुग्दै सिकलसेल रोगले पतिको मृत्यु भयो । उनले हार भने खाइनन् । ठेलामा खाजा पसल राखिन् । त्यही पसलबाट दैनिक ५ सयदेखि ८ सयसम्म आम्दानी भइरहेको छ । सासू–ससुराबाट गतिलो सहयोग नपाए पनि उनले आफ्नै पौरखबाट सुरु गरेको व्यवसायले आमाछोराको जीवन राम्रैसँग चलिरहेको छ ।
राजापुर नगरपालिका–४ वसन्ताकी २२ वर्षीया शोभा चौधरीलाई पनि बोल्ने फुर्सद छैन । उद्धार भएपछि घर फर्किएकी उनले चितवनमा ल्याब असिस्टेन्टको १५ महिने तालिम लिइन् । बारबर्दियाको कतरनियास्थित बबई पोलिक्लिनक प्रालिमा उनले जागिर पनि पाइन् । खाने–बस्ने सुविधासहित मासिक ७ हजार तलब पाउन थालेपछि उनका दुस्खका दिन सकिएका छन् । जागिरसँगै प्लस–टुमा अध्ययन गरिरहेकी शोभाले भनिन्, ‘शनिबार बिरामीको चाप बढी हुने भएकाले रगत परीक्षण गर्न भ्याइनभ्याइ हुन्छ । बोल्ने फुर्सदसमेत हुँदैन ।’
बारबर्दिया गाउँपालिका–१ की निशा थारूले चिया–खाजा पसलबाटै मासिक झन्डै ३० हजार आम्दानी हुने गरेको बताइन् ।
साहूको घरबाट उद्धार गरिएका कम्तीमा५० जना कमलरीले विभिन्न व्यवसाय गर्दै आएका छन् ।
५ वर्षअघि उद्धारपछि घर फर्केकी कैलाली थापापुरकी २३ वर्षीया अनिता चौधरीले लोकसेवा दिएर अनमी पदमा स्थायी जागिर पाइन् । पॉच वर्षसम्म साहूको घरमा निकै दुस्ख खेपेकी थिइन् उनले । त्यहीं बसेर ९ कक्षासम्म अध्ययन गरिन् । उद्धारपछि एक संस्थाको सहयोगमा छात्रावासमा बसेर पढने मौका पाइन् । ‘एसएलसी प्रथम श्रेणीमा उत्तीर्ण भएपछि चितवन पुगेर १८महिने अनमी कोर्स गरें, उनले भनिन्, ‘पहिलोपटक मासिक २४ हजार रुपैयाँ तलब पाउँदा दंग परेँ ।’
पश्चिम नेपालमा कलंककै रूपमा अस्तित्वमा थियो, कमलरी प्रथा । ०७० असार १३ गते प्रथा हटेको घोषणा भयो । धेरै बालिकालाई उद्धार गरियो । तीमध्ये अधिकांश अहिले विभिन्न पेसा व्यवसायमा संलग्न भएर सुखद भविष्यको गोरेटो कोरिरहेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।