कपिलवस्तु । स्थानीय तहको निर्वाचन घोषणाको माग गर्दै एमाले निकट जनवर्गिय सङ्गठनले प्रधानमन्त्रीलाई ज्ञापन पत्र पेस गरेका छन् ।सोमबार जिल्ला प्रशासन कार्यालय कपिलवस्तु मार्फत प्रधानमन्त्री शेर बहादुर देउवालाई ज्ञापन पत्र पेस भएको छ । एमाले नेतृ तथा संविधान सभा सदस्य शान्ति देवी हरीजनले प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डे लाई ज्ञापन पत्र पेस गर्नु भएको थियो ।
ज्ञापन पत्रमा संविधानको धारा (२१५) र (२१६) ले नगर÷गाउँ पालिकाको प्रमुख÷अध्यक्ष, उपप्रमुख÷उपाध्यक्ष, वडा अध्यक्ष र सदस्यको प्रत्यक्ष निर्वाचन हुने र निर्वाचित मितिले ५ वर्ष पुगेकै मितिमा पदमुक्त हुने व्यवस्था गरेको उल्लेख गरिएको छ । अहिलेको सरकारले निर्वाचनको टार्न जनतामा भ्रम छर्ने काम गरेको एमाले जिल्ला अध्यक्ष डम्मर शर्माले बताए ।
सरकारले कृषकलाई समयमा मल तथा बिउ विजन उपलब्ध गराउन नसक्नु सरकारको कमजोरी ठहर गर्दै, महिला तथा बालबालिकामा माथि हुने यौन जन्य हिंसा तथा दुर्व्यवहार जस्ता जघन्य अपराधका पिडकलाई तत्काल कारबाही गर्न माग गरिएको अखिल नेपाल महिला सङ्घका कपिलवस्तु जिल्ला संयोजक शारदा शर्माले बताइन ।
एमाले जनवर्गिय सङ्गठनले ७७ जिल्लामा आज स्थानीय निर्वाचन घोषणाको दबाब दिने गरी कार्यक्रमको आयोजना गरिएको एमाले सचिव चन्द्र बहादुर गहतराजले बताउनु भयो । १२ बुँदे माग सहितको ज्ञापन पत्र नेपाल मुस्लिम इत्तेहाद सङ्गठन केन्द्रीय सचिवालय सदस्य मेराज खान अखिल नेपाल महिला सङ्घ जिल्ला संयोजक शारदा शर्मा, अनेरास्ववियु जिल्ला सह–संयोजक अन्जित खनाल, नेपाल उत्पीडित जातीय मुक्ति समाज जिल्ला अध्यक्ष टिकाराम सुनार, नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) लुम्बिनी प्रदेश सदस्य कर्ण बहादुर लामा, प्रेस चौतारी जिल्ला अध्यक्ष जानु पाण्डेको सहभागिता रहेको थियो ।
यस्तो छ मागहरू
१. स्थानीय तहको निर्वाचन संवैधानिक प्रावधान अनुसार निर्धारित समयमै सम्पन्न गर्न अविलम्ब मिति घोषणा गरियोस् ।
२. कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन सङ्क्रमण देशव्यापी फैलिरहेकोले सबैको पहुँच हुने गरी आवश्यक भ्याक्सिन र स्वास्थ्य सतर्कताको प्रबन्ध गरियोस् ।
३. पूर्ववर्ती सरकारले ल्याएको “सुखी नेपाली, समृद्ध नेपाल” को अवधारणा र विकासका योजनाहरूलाई निरन्तरता दिइयोस् ।
४. मुलुकमा व्याप्त भ्रष्टाचार, घुस खोरी, महँगी, बजेट घाटा र आर्थिक दुरुपयोग तुरुन्त नियन्त्रण गरियोस् ।
५ राज्यको नीति अनुरूप आधारभूत तह देखि उच्च शिक्षा र प्राविधिक शिक्षा क्षेत्रमा छात्रवृत्ति कार्यक्रम पर्याप्त हुने गरी लागु गरियोस् तथा छात्रवृत्ति वितरणमा हुने अनियमित तुरुन्त बन्द गरियोस् ।
६. अन्तरजातीय विवाहको कारण दलित समुदायका व्यक्तिहरू मारिनु पर्ने, बेपत्ता पारिनु पर्ने, निर्मम यातना सहित अपमानित भएर समाजमा जिउन बाध्य पारिएको छ । यस प्रकारका घटनालाई कानुनको दायरामा ल्याई समाजमा सम्मानित जीवन यापन गर्ने वातावरण बनाउन जोड्दार माग गर्दछौँ ।
७. विद्यार्थीहरूलाई शैक्षिक प्रमाणपत्र धितो राखी सहुलियत ऋणको व्यवस्था कार्यान्वयन गर्न जोडदार माग गर्दछौ ।
८. संविधानमा सुनिश्चित भएको निःशुल्क शिक्षा दिने व्यवस्था कार्यान्वयन गर्न जोडदार माग गर्दछौ ।
९ योगदानमा आधारित सामाजिक सुरक्षा कोष तत्काल लागु गरियोस् ।
१० अव्यवस्थित बसोबास तथा भूमिहीनहरूलाई आवास तथा जग्गाको तत्काल व्यवस्थापन गर ।
११. कृषकहरूलाई समय मै मल खाद, विउविजन, सिँचाइ उपलब्धताको सुनिश्चित गर ।
१२. महिला तथा बालबालिका माथीहुने यौन जन्य हिंसा, दुर्व्यवहार जस्ता अमानवीय घटनामा पिडक लाई तत्काल कारबाही गर साथै हिंसा प्रभावितलाई राहतको व्यवस्था गर्न जोडदार माग गर्दछौ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।