प्रदेश ४

बीचमा रूखसहित दायाँबायाँ पिच भएको चिल्लो सडक भयो भाइरल

By Thah Online

January 31, 2022

काठमाडौँ । ऐतिहासिक स्थल व्यास नगरपालिका–११ तनहुँसुरमा हालै मात्र कालोपत्रे सम्पन्न भएको सडक ‘भाइरल’ बनेको छ। सडकको बिच भागमा रहेको रूखलाई संरक्षण गरेर कालोपत्रे गरिएको सडकले केही समययता चर्चा कमाएको छ।

सामाजिक सञ्जालमा उक्त सडकले चर्चा कमाएसँगै तनहुँसुर पुग्ने सर्वसाधारणको सङ्ख्या बढेको छ। सडककै कारण यति बेला तनहुँसुरमा आन्तरिक पर्यटकको चहलपहल बढेको स्थानीयसमेत रहेका व्यास–११ का वडाध्यक्ष सञ्जय श्रेष्ठले बताउनुभयो ।

‘शनिवार मात्र तनहुँसुरमा दुई हजारभन्दा बढी पर्यटकको आगमन रह्यो, केही समयदेखि ओझेलमा परेको तनहुँसुर बिस्तारै चर्चामा आउन थाल्यो’, उहाँले भन्नुभयो ।

तनहुँसुरसम्म पुग्ने खड्गकाली मोटरमार्ग सङ्घीय सरकार र व्यास नगरपालिकाको साझेदारीमा कालोपत्रे गरिएको छ। उक्त मोटर मार्गको ५.६ किलोमिटर खण्डमा कालोपत्रे, पक्की नाला, ग्याविन जाली र वाल निर्माण कार्य पूरा भएको हो।

अब ऐतिहासिक तनहुँसुर दरबारसम्म पुग्न करिब साढे दुई किलोमिटर सडक कालोपत्रे हुन बाँकी रहेको छ। हाल व्यास नगरपालिका–११ को रातमाटाबाट ढाँडखोलेसम्म कालोपत्रे भएको छ। कूल रु १० करोडको इष्टमेट भए पनि बोलपत्र प्रक्रियामार्फत ऋषि शक्ति जेभीले रु सात करोड ५१ लाखमा कालोपत्रे र पक्की नाला निर्माण गरेको हो।

उक्त योजना कार्यान्वयनका लागि सङ्घीय सरकारले ५० प्रतिशत र व्यास नगरपालिकाले ५० प्रतिशत बजेट उपलब्ध गराएको थियो। कालोपत्रे सडकमार्फत अब तनहुँसुर दरबार दमौलीबाट आधा घण्टामा पुग्न सकिन्छ।

उक्त सडकको योजना छनोटका लागि तनहुँ क्षेत्र नम्बर १ का तत्कालीन एमाले सांसद तथा वर्तमान श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठको सहयोग रहेको छ।