काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले अव्यवस्थित टहरा हटाउने भएको छ । कोषले पशुपति क्षेत्रमा अव्यवस्थित टहरा १५ दिनभित्र हटाउन निर्देशन दिएको हो ।
बुधवार एक सूचना जारी गर्दै पशुपति क्षेत्रमा रहेका अव्यवस्थित फलफूल, उपहार पसल, टहरा १५ दिनभित्र खाली गरी हट्न र सामानहरू हटाउन निर्देशन दिएको हो । कोषले विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रलाई स्वच्छ र सुन्दर राख्ने उद्देश्यले अव्यवस्थित टहरा हटाउन लागिएको कोषले स्पष्ट पारेको छ ।
“पशुपति क्षेत्रका मूल सडक, सहायक सडकहरूका पेटी, डबलीहरू र खुला चौर, कैलाश डाँडा तथा मृगस्थली, गोरखनाथ क्षेत्र, वनगणेश, पञ्चदेवल वृद्धाश्रम, भकुण्डोल क्षेत्र समेतमा अव्यवस्थित छाप्रा बनाई फूल, उपहारजन्य पसल व्यवसाय गर्ने र बसोबास गर्ने कार्यहरू भएको छ,” सूचनामा भनिएको छ ।
पशुपति क्षेत्रको सौन्दर्यमा नकारात्मक असर पर्नुका साथै भक्तजन, तीर्थयात्री, पर्यटक र पैदल यात्रीको आवागमनमा समेत अवरोध पुग्न गएको कोषले जनाएको छ ।
पशुपति क्षेत्रको मापदण्ड एवं कोषको स्वीकृति नलिई सञ्चालित पसल तथा बसोबासका लागि बनाइएका अस्थायी टहराहरू र वनकाली वनगणेश क्षेत्रमा रहेका अस्थायी फूलपसल, पूजा सामग्री पसल, पूजा भाडा पसलहरू यसअघि कोष र त्यस क्षेत्रमा सञ्चालित पसलवालाहरूसँग भएको सहमति बमोजिम कोषले निर्माण गरेका स्थायी संरचनामा गोला प्रथाबाट छनोट भएकाहरू कोषको सार्वजनिक खरिद महाशाखामा समन्वय गरी तत्काल सामान सारी सञ्चालन गर्न उल्लेख गरिएको छ ।
पशुपति क्षेत्र विकास कोषले जारी गरेको सार्वजनिक सूचना:
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।