कमल थापा नयाँ पार्टी खोल्ने तयारीमा जुटे



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पूर्वअध्यक्ष कमल थापा नयाँ पार्टी खोल्ने कसरतमा जुटेका छन् । वर्तमान अध्यक्ष राजेन्द्र लिङ्देनसँग शुक्रबारको भेटवार्ता उपलब्धिमूलक नभएपछि थापाले नयाँ पार्टी खोल्न लागेको संकेत दिएका हुन् ।

पार्टी गठन गर्नुअघि थापा देश दौडाहामा निस्किने तयारीमा रहेको उनीनिकट नेताले बताएका छन् । थापानिकट नेता बसन्तमानसिंह अधिकारीले राष्ट्रिय जागरण अभियान सुरु गर्ने तयारी भइरहेको छ। देशव्यापी सञ्चालन हुने अभियानले पार्टी निर्माणका लागि आधार तयार गर्ने अधिकारीले बताए ।

राप्रपाका पूर्वअध्यक्ष थापालाई पूर्वअध्यक्ष पशुपति शमशेर राणा र लोकेन्द्रबहादुर चन्दले साथ दिने बताइएको छ। पूर्वअध्यक्ष चन्दले औपचारिक रूपमा थापालाई साथ दिने बचन दिइसकेका छैनन् । तर, अधिकारीसहितका चन्दनिकट पुराना नेताहरूले थापालाई साथ दिन आग्रह गरिरहेका छन् ।

राप्रपाको पदाधिकारीमा निर्वाचित ध्रुवबहादुर प्रधान, बुद्धिमान तामाङ, भुवन पाठक, रोशन कार्कीलगायतका नेताहरूले साथ दिने बताइएको छ । अध्यक्षमा राजेन्द्र लिङ्देनसँग पराजित भएपछि राप्रपासँग सम्बन्ध विच्छेदको तयारीमा रहेको थापाले लिङ्देनलाई दुई पटक पत्र लेखिसकेका छन्। २७ मंसिर र १३ माघमा थापाले पत्र लेखेर महाधिवेशनमा निर्मल निवासको हस्तक्षेपमाथि छानबिन गर्न मान गरेका छन् ।

दोस्रो पत्रमा आफूलाई योजनावद्ध रूपमा किनारा लगाउन खोजिएको आंशका पनि व्यक्त गरेका छन् । तर, अध्यक्ष लिङ्देनसँग थापा सम्पर्कमा आउन चाहेका छैनन् । अध्यक्ष लिङ्देनले थापासँग सम्पर्क गर्दा उनी सम्पर्कमै आउन नचाहेको लिङ्देननिकट नेताहरूले दाबी गरेका छन्। थापानिकट प्यानलबाट महामन्त्रीमा निर्वाचित कुन्ती शाहीले पूर्वअध्यक्ष थापालाई विकल्प खोज्न नदिने प्रयास भइरहेको बताइन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्