कपिलवस्तु । सिनियर कर्मचारी हुँदा हुँदै जनप्रतिनिधिको सेटिङ चलाउन जुनियरलाई निमित्त तोकिएको छ । कपिलवस्तुको मायादेवी गाउँपालिकामा गाउँपालिकामा दुई जना सिनियर कर्मचारीलाई लत्याएर जुनियर निमित्त प्रमुख प्रशासकिय अधिकृत तोकिएको छ । गाउँपालिका अध्यक्ष बजरंगी प्रसाद चौधरीको आदेशमा जुनियर कर्मचारीलाई प्रमुख बनाइएको आरोप लागेको छ ।
गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद तिमिल्सीनाको सरुवा भए पछि परमेश्वर यादवलाई निमित्त प्रमुखको जिम्मेवारी दिइएको हो । अध्यक्ष चौधरीले नियतवस यादवलाई नियम विपरित जिम्मेवारी दिएको गाउँपालिकाका कर्मचारीहरु बताउछन् । गाउँपालिकामा यादव भन्दा सिनियर भए पनि अध्यक्षले आफु अनुकुल रहेका यादवलाई अगाडी बढाएका थिए ।
यही शुक्रवार गाउँपालिकाले तिमिल्सीनाको बिदाई गरेको थियो । विदाई सँग सँगै यादवलाई प्रमुखको जिम्मेवारी तोकिएको थियो । कार्यालयमा यादव भन्दा २ तह सिनियर ( आठौँ तह ) पशु विकास अधिकृत बडेलाल कोहाँर भए पनि कनिष्ठलाई नियुक्ती दिइएको एक कर्मचारीले बताए । यता यादव भन्दा सिनियर योजना तथा प्रशासकिय अधिकृत राम कृष्ण तेली रहेका थिए । तिमिल्सीना बाहिर जाँदा तेली निमित्त भई काम गर्दै आएका समेत थिए । तेली प्रशासनमा बसी काम गरेको अनुभव समेत रहेको छ ।
विशेष स्रोतका अनुसार गाउँपालिका अध्यक्ष चौधरीले यादवलाई निर्वाचन सम्म अवधी लम्वाउने गरी योजना बनाएका छन् । जनता समाजवादी पार्टीको बाहुल्यता रहेको गाउँपालिकामा अध्यक्ष चौधरीले मनोमानी ढंङ्गले काम गर्दै आएको नाम नखुलाउने सर्तमा एक वडा अध्यक्षले बताए । ‘चौधरी जीले बदमासी गर्नु भएको छ । योजनाको कमिसन खान आफु निकटका यादवलाई निमित्त दिनु भएको छ । यो नियम संगत छैन् । काम गर्न नसक्ने र जुनियरलाई जिम्मेवार दिँदा अरु कर्मचारीको मनोवल घट्छ ।’ नाम नखुलाउने सर्तमा एक जनप्रतिनिधि बताउछन् । (राघवेन्द्र चौवेको सहयोगमा तयार पारिएको सामाग्री)
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।