काठमाडौँ । वैशाख ३० गते स्थानीय तहको निर्वाचनको मिति तय भएसँगै निर्वाचन आयोगले मतदाता नामावली सङ्कलनको काम पनि आज मङ्गलवारबाट स्थगित गरेको छ ।
निर्वाचन आचारसंहिताअनुसार देशभर मतदाता नामावली सङ्कलन हुने कार्यालयलाई आजदेखि मतदाता नामावली सङ्कलन कार्य रोक्न र हालसम्मको विवरण पठाउन निर्देशन दिइएको आयोगका प्रवक्ता शालिकराम शर्माले जानकारी दिए। आयोगले मतदाता नामावली प्रकाशनको तयारी गरेको छ ।
कानुनी व्यवस्थाअनुसार निर्वाचनको मिति घोषणापछि मतदाता नामावली सङ्कलन गर्न पाइँदैन। सोहीअनुसार आयोगले उक्त कार्य रोकेको हो । निर्वाचनको मिति घोषणा भएपछि सोमबार दिउँसो आयोगमा बैठक बसेको थियो । हालसम्म देशभर १ करोड ९० लाखजनाले मतदाता नामावलीमा नाम समावेश गराएको आयोगको प्रारम्भिक तथ्याङ्क छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।